यो वा त्यो बाहानमा संक्रमण बढाउने कार्य नगर्ने हो की ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यो वा त्यो बाहानमा संक्रमण बढाउने कार्य नगर्ने हो की ?


१३ जेष्ठ २०७८, बिहिबार


पहिलो पटक चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै तहसनहस बनाइरहेको छ । विकसित देशहरूले भने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनमार्फत सङ्क्रमण रोकथाम र नियन्त्रण गर्दै जनजीवनलाई सामान्यीकरण तर्फ अग्रसर गरिरहेका छन् । यता छिमेकी मुलुक भारतमा देखिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण भारत लगायत नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ ।

नेपाल हाल सङ्क्रमण दर उच्च भएका मुलुकहरूमध्ये रहेको छ । दैनिक मृत्युको दरसमेत बढेको छ । नेपाल सरकारले हाल सङ्क्रमणको प्रभावकारी रोकथाम नियन्त्रण र व्यवस्थापनको लागि मानिसहरूको भिडभाड कम गर्न साथै समुदाय स्तरमा सङ्क्रमणको महामारी फैलिन नदिन निषेध आदेश जारी गरी अत्यावश्यकीय सेवा सञ्चालन बाहेकका क्षेत्रमा पूर्णरूपमा रोक लगाएको छ ।

कसरी भयो सङ्क्रमणको दर उच्च ?
पहिलो चरणमा देखिएको कोरोना महामारीले नेपालमा धेरै प्रभाव परेन । कारण विश्व स्वास्थ्य सङ्गठन लगायतका निकायहरूले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न गराउन नेपाल सरकारले तत्काल देशैभरि लकडाउन गरी मानिसको भिडभाडलाई नियन्त्रणमा जोड दियो । जसले गर्दा समुदायस्तरमा यसको सङ्क्रमण फैलिन पाएन। मानिसहरूमासमेत विकसित देशहरूमा भइरहेको मृत्युदरलाई आकलन गरी महामारीप्रतिको सावधानी उच्च देखियो । लकडाउन अवधिभर मास्क, स्यानिटाइजरको प्रयोगमासमेत सबैले ध्यान दिए ।

विकसित देशहरू जस्तै चिन, इटाली र अन्य मूलकहरूमा महामारी उच्च भएकोले यसको दिगो निवारणमा ध्यान दिन खोपको आविष्कार गर्ने सँगसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालनालाई निरन्तरता दिने कार्य गरिरहे । खोपको प्रयोग सबै नागरिकमा पुर्‍याउने साथै उच्च सतर्कताका साथ बिस्तारै दैनिक जनजीवनमा फर्कन सुरुसमेत भयो । तर नेपालमा आफ्नो देशको वास्तविकतामा हामीले ध्यान पुर्‍याउन सकेनौँ । हामीले महामारी नियन्त्रणको हकमा निरपेक्ष भई मूल्याङ्कन गर्न समेत सकेनौँ । न त छिमेकी देशहरूसँग दीर्घकालीन व्यवस्थापनको लागि सबै नागरिकलाई खोपको बन्दोबस्त गर्न तर्फ कूटनैतिक सम्बन्धको हिसाबले लाग्न सक्यौँ । बरु हामी त कोरोना निस्तेज भए जसरी बिना स्वास्थ्य सुरक्षा मापदण्ड स्वस्फुर्त मानिसको भिडभाड हुने राजनैतिक सामाजिक सांस्कृतिक साथै व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्नतर्फ उद्धत भयौँ ।

पछिल्लो समयमा सङ्क्रमणको दर उच्च हुनुमा राजनैतिक, प्रशासनिक, व्यवसायीक क्रियाकलापमा संलग्न व्यक्तिहरू अलि बढी र समाजलाई सुसूचित गर्नुपर्ने शिक्षित समुदाय साथै समग्रमा आम नागरिकहरूको भूमिका नै जबाफदेही देखिन्छ । सङ्क्रमणकै दौरान भएका राजनैतिक सभा सम्मेलनहरूमा मास्कको प्रयोगसमेत नगरेका विभिन्न जिल्लाहरूबाट राजधानी लगायतका ठाउँहरूमा मानिसहरु एकत्रित भए । यद्यपि महामारीको जोखिम नियन्त्रणमा आइसकेको हो की भन्ने आकलनले सो तर्फ कसैले ध्यान पुर्‍याएन ।

सबै धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरूमा मानिसहरूको बाक्लो उपस्थितिमै सञ्चालनमा आइरहे । मानौँ कोरोना नामक भाइरसको अन्त्य भयो । जसले गर्दा कोरोना सङ्क्रमित रहिरहेका व्यक्तिहरूबाट सबै मानिसहरूमा भाइरस सर्दै गयो । मानिसहरूमा कोरोनाप्रतिको भय हराउँदै मानसिकरूपमा यो केही होइन भन्ने भावना विकास भई हेलचक्राई गर्ने कार्यले तीव्रता पायो । फलस्वरूप आजको कठिन स्थितिमा हामी पुगेका छौँ ।

यो वा त्यो वाहानामा सङ्क्रमण नबढाऊ
नेपाल सरकारले दोस्रो भेरियन्टसहितको कोभिडको प्रभावकारी रोकथाम नियन्त्रणका लागि निषेध आदेश जारी गरेको छ । सामाजिक तथा भौतिक दूरी कायम राख्ने साथै अन्तरार्ष्ट्रिय स्वास्थ्य संस्था तथा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । हालको उच्च सङ्क्रमण दरको प्रमुख कारण नै स्वास्थ्य सुरक्षाका मापदण्डको प्रभावकारी पालना नहुनु हो । साथै समुदायस्तरमा हुने विभिन्न बहाना जस्तै राजनैतिक भेटघाट, सभा सम्मेलन सामाजिक धार्मिक साथै परम्परागत सांस्कृतिक कार्यक्रम, व्यावसायिक क्रियाकलापहरू, जोखिम क्षेत्रमा कार्यरतहरूको सुरक्षाको प्रभावकारी र मजबुत व्यवस्था नहुनु नै हो ।

कोरोना सङ्क्रमण पुष्टि पश्चात् बिरामीहरूमा जटिलता देखिँदै गएको, तुरुन्तै फोक्सोमा सङ्क्रमण भई निमोनिया हुने जसले गर्दा श्वासप्रश्वासमा समस्या भई बिरामीको मृत्यु हुने भएको साथै नेपालमा पछिल्लो विवरणहरू हेर्दा अक्सिजनको अभाव, भेन्टिलेटरको अभाव, आई.सी.यु.को अभावले सङ्क्रमण पश्चात् उपचार जटिल भएको स्थिति विद्यमान छ। हाल दैनिक अक्सिजनको अभावले निमोनिया भई सकेको भनी बिरामीको ज्यान गइरहेको छ । अर्कोतर्फ कोरोना महामारीको सञ्जीवनी बुटीकारूपमा सिद्ध भइसकेको खोपको सरल र सहज पहुँच तत्कालै हुनेमासमेत विश्वस्त हुन सकिने अवस्था देखिँदैन । किनकि खोप उत्पादनकर्ता देशहरूले आफ्नै देशका जनतालाई पुरा गरिसकेपछि मात्र वैदेशिक वितरण गर्ने साथै छिमेकी मुलुक भारत आफैँ सङ्क्रमणबाट आक्रान्त भएकोले त्यहाँबाटसमेत खोप आयात गर्न सकिने अवस्था छैन। रोग लागिसकेपछि प्रभावकारी उपचार पद्धति अनिवार्य सर्त हो तथापि मानवीय क्रियाकलापहरूमा संयमता अपनाउँदा सक्रमणबाट बच्न सकिन्छ भने त्यसतर्फ किन ध्यान नपुर्‍याउने ।

देशमा पछिल्लो समयमा देखिएको राजनैतिक घटनाक्रम हेर्दा सरकारबाट चुनावको घोषणा भइसकेको साथै केही राजनैतिक दल र समूहहरू हालको राजनैतिक गतिविधिको विरोधमा देखिएको पाइन्छ । सबै पक्षका आफ्ना मागहरू एक ठाउँमा छन् तथापि हाल जनतालाई सबैभन्दा बढी खड्केको विषय छिटोभन्दा छिटो जुनसुकै प्रक्रिया अबलम्बन गरेर भएपनि खोपको आपूर्ति गरी जनताको सहज पहुँचमा पुर्‍याइदिनु रहेको छ । यद्यपि खोपको व्यवस्था नहुँदासम्म भने स्वास्थ्यका प्रोटोकलहरूको प्रभावकारी पालना गरी सङ्क्रमणबाट आफू जोगिनु र समुदायस्तरमा यसको सङ्क्रमण रोक्नु नै हो।

अबका दिनमा नेपालमा राजनैतिक गतिविधिहरू बढ्ने सङ्केत देखिएकोले पहिलो चरणको दौरानमा भएजस्ता मानिसको अत्यधिक जमघट हुने क्रियाकलापहरु सञ्चालन नगर्ने साथै त्यस्ता गतिविधिहरू भर्चुअल्ली गर्ने, लामो समयसम्म बन्द भएका महत्त्वपूर्ण प्रशासनिक कार्यहरू खोली सञ्चालन गर्नु परेमा पनि कडारूपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गरी गराई गर्ने, अत्यावश्यक बाहेकका सेवा प्रदायक निकायहरूले तत्काल सञ्चालन नगर्ने, साथै विभिन्न धार्मिक क्रियाकलापहरू सञ्चालन नगर्ने, सामाजिक सांस्कृतिक र परम्परागत भेटघाट जमघट र क्रियाकलापहरू न्यूनीकरण गर्ने जस्ता कार्य अपरिहार्य देखिन्छ । अन्यथा अब तेस्रो लहरको कोरोना भाइरससमेत देखा परेको पुष्टि भइसकेको सन्दर्भमा सबै आम नागरिकहरुले सावधानी नअपनाउने तथा तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगर्ने र भौतिक दुरी कायम नराख्ने हो भने चैतमासको डढेलो सरी गाउँगाउमा सङ्क्रमण फैलिन गई नियन्त्रण बाहिर जाने निश्चित छ । त्यसैले सबै राजनैतिक दल, दलसम्बद्ध सङ्गठनहरूका प्रतिनिधि, सबै प्रशासनिक निकायहरू, नागरिक समाज, पत्रकार, समाजका प्रतिष्ठित अगुवाहरूले सचेतनामार्फत सबैलाई अनिवार्य सर्तकारूपमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक भौतिक दुरी कायम राख्न अभिप्रेरित गरौँ।

राजनैतिक माग, प्रशासनिक कार्य सम्पादन, व्यवसायिकता, धार्मिक तथा सामाजिक परम्परागत मूल्यमान्यता जस्ता यो वा त्यो बहानामा सङ्क्रमण दर उच्च बनाउने क्रियाकलापहरूमा सबै आ आफ्नोतर्फबाट जिम्मेवार बनी महामारीको प्रभावकारी रोकथाम नियन्त्रण र व्यवस्थापनमा सबैले ध्यान दिने हो की ?

पाण्डे जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस