जोखिम क्षेत्रका बस्ती सुरक्षित स्थानमा सार्न गृहको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जोखिम क्षेत्रका बस्ती सुरक्षित स्थानमा सार्न गृहको आग्रह


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ ।

प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

प्राधिकरणले बुधबार प्रेस नोट जारी गर्दै विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।

त्यस्तै, आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस