निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा छेत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र मासिक सञ्चालन खर्चबापत करीब रु ४८ लाख १६ हजार ६०० रकम सहयोग गरेको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र नगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा आज अस्पताल सञ्चालनको शुभारम्भ गरेका हुन् । अस्पतालका निर्देशक डा प्रेमकुमार जोशीका अनुसार अब अस्पतालमा सात आइसियु, चार भेन्टिलेटर, छ एचडियुसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

महानगरसँग भगिनी सम्बन्ध स्थापना भएको चीनको ल्हासा शहरबाट उपलब्ध भएको भेन्टिलेटरमध्ये दुई छेत्रपाटी चिकित्सालयलाई यसअघि नै दिइएको छ । यसैगरी अस्पतालले खरीद गर्ने थप तीन भेन्टिलेटरको रकम पनि महानगरले नै भुक्तानी गर्ने सहमति भएको छ । अस्पतालको पूर्वाधार सुधारका लागि करीब रु ३० लाख खर्च गरेर लिफ्ट जडान गरिसकेको र नयाँ भवन निर्माण गर्न करीब रु पाँच करोड विनियोजन गरेको नगर प्रमुख शाक्यले जानकारी दिए ।

शुभारम्भपछि राज्यमन्त्री मानन्धरले महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको बताए । महानगरले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंसा गर्दै उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम व्यक्ति वा समूहको भन्दा माथि हुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

गत वैशाख २५ गतेदेखि अहिलेसम्ममा महानगरले कोरोना नियन्त्रणका लागि आवश्यक यन्त्र उपकरण सहयोग गर्न भन्दै १२ अस्पतालसँग सम्झौता गरिसकेको छ । यसरी सम्झौताबमोजिम छेत्रपाटी अस्पतालमा आजदेखि कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० श्ययाको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ श्ययाको एचडियु र २५ श्ययाको साधारण गरी ५० श्ययाकोे आइसोलेशन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालमा ४२ भेन्टिलेटर र १० थान प्रेसर यन्त्र जडान हुँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस