अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् ।

उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको बताएका छन् । ‘एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ । यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ’, सहप्रवक्ता डा. अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ ।’

सूचनामा अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत सङ्क्रमितलाई समस्या पर्ने उल्लेख गरिएको छ । उनले सङ्क्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने गराउने कार्यलाई बन्द गर्न गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्नसमेत अनुरोध गरिएको छ ।

मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतमा आयात गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस