नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । काठमाडौँको नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन एसोसिएशनको सहकार्यमा ३०० श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

नागार्जुन नगरपालिका–१ रानीवनस्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि बनाएका भवनमा निर्माण गरिएको उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उपलब्ध गराइएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले राससलाई जानकारी दिए । ‘वर्षौंदेखि प्रयोगविहीन भएका भवनलाई सदुपयोग गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि नगरपालिकाले अन्य व्यक्ति र संस्थाको सहकार्यमा आइसोलेशन केन्द्र स्थापना गरेको हो’, नगरप्रमुख बस्नेतले भने ।

सो आइसोलेशनमा ललितपुरको सर्वाङ्ग अस्पतालका चिकित्सकले सेवा प्रदान गर्नेछन् । उक्त आइसोलेशनमा १०० वटा अक्सिजन सिलिण्डरसहित सेवा उपलब्ध गराइएको काँग्रेस केन्द्रीय सदस्य पौडेलले बताए । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ । नेता पौडेलले कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्न गाह्रो भएका बिरामीले उक्त आइसोलेशन सेन्टरबाट सेवा लिन सक्ने बताए ।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहेका नेता पौडेलले देशभर यस्तै प्रयोगविहीन रहेका सरकारी भवनलाई तुरुन्तै आइसोलेशन र अस्पतालका रूपमा दिनसके सङ्क्रमितले उपचार नै नपाएर मर्नुपर्ने अवस्था नआउने बताए । ‘देशभर यस्ता भवन धेरै ठाउँमा छन्, त्यस्ता भवनको उपभोग गर्ने हो भने धेरै सङ्क्रमितको ज्यान बचाउन सकिन्छ, त्यसका लागि स्रोतसाधन भएको सरकारले इच्छाशक्ति देखाउनुपर्छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस