दम्भ र अहङ्कारले विनाश निम्त्याउँछ : प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दम्भ र अहङ्कारले विनाश निम्त्याउँछ : प्रचण्ड


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २५६५ औँ बुद्ध जयन्तीमा शुभकामना व्यक्त गरेका छन्। गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्‍याएको योगदान नेपालीका लागि गर्वको कुरा भएको स्मरण गर्दै उनले दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउने बताए।

शुभकामना सन्देश दिँदै उनले बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शाश्वत रहेको बताए ।

अध्यक्ष दाहालको शुभकामना सन्देशमा भनिएको छ,‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौँ । बृहत् जनसमुदायको भावना र आकाङ्क्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औँ शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन ।’

यस्तै उनले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको धारणा राखेका छन् । त्यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरू एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध सङ्घर्षका लागि आग्रह उनले गरेका छन् ।

त्यसैगरि आजै परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाको पनि शुभकामना व्यक्त गरेका छन्। साथै, कोरोना भाइरस (कोभिड–१९) को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस