गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार्थ मिथानोल धेरै राखेर बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

प्रहरीले भट्टराईको साथबाट तीन हजार ८१ लिटर स्यानिटाइजर बरामदसमेत गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखा प्रमुख खापुङले जानकारी दिए ।

श्रीमतीको हत्या आरोपमा एक पक्राउ
वाग्मती– मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । बयालीस वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो ।

पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमान् बारा जिल्ला निजगढ नगरपालिकाअन्तर्गत रामथली घर भई हाल हेटौँडा–१० बस्ने ५४ वर्षीय माइला भनिने कृष्णबहादुर मोक्तानले टहराभित्र वादविवाद हुँदा कुटपिट गरेको र नजिकैको न्यूरेनीस्थित भूटनदेवी सामुदायिक वनमा लगी फालेको खुल्न आएको प्रहरीले जनाएको छ । मोक्तानलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस