राष्ट्र बैङ्कले ९ प्रतिशत ब्याज दिने गरी नागरिक बचतपत्र ल्याउँदै, यसरी दिनुहोस् आवेदन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्र बैङ्कले ९ प्रतिशत ब्याज दिने गरी नागरिक बचतपत्र ल्याउँदै, यसरी दिनुहोस् आवेदन


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ९ प्रतिशत ब्याज दिने गरी नागरिक बचतपत्र जारी गर्ने भएको छ। बैङ्कले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो।

जेठ ११ गतेदेखि असार १ गतेसम्म यसमा लगानीका लागि आवेदन दिन सकिने बैङ्कले जनाएको छ। ५ वर्षपछि अर्थात् २०८३ असार ६ गते यसको लगानी अर्थात् साँवा रकम फिर्ता हुनेछ।

यस्तो बचत ५ वर्षे अवधिको हुनेछ । यो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइन्छ। कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने अङ्कमा लगानी गर्न सकिन्छ। यस्तो बचतपत्र बैङ्क तथा वित्तीय संस्थामा धितो राखेर आवश्यक परेको खण्डमा ऋण पनि लिन पाइन्छ।

हाल कुनै पनि वाणिज्य बैङ्कहरूले साढे ८ प्रतिशतभन्दा बढी ब्याज दिएको छैन ।

यसरी दिनुहोस् आवेदन :
आवेदन फारम विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा तथा राष्ट्र बैङ्कको वेबसाइटमा गई ‘पब्लिक डेप्ट’मा गई डाउनलोड गर्न सकिन्छ।

उक्त डाउनलोड गरेको फारम भरेर बैङ्क तथा वित्तीय संस्थाका शाखा वा राष्ट्र बैङ्कका प्रदेश कार्यालयमा पनि बुझाउन सकिनेछ ।

बैङ्कका अनुसार बचत पत्र खरिदका लागि रकम बुझाएकै मितिबाट ब्याज रकम गणना हुनेछ। स्टक वा प्रमिसरी नोटकोरुपमा बचतपत्र स्वीकार हुनेछ। स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारम भर्दा खुलाउनुपर्नेछ। नखुलाएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलब्ध गराइनेछ। लेखपढ गर्न नजान्नेलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने बैङ्कले जनाएको छ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदनका साथ २ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्ने बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस