यस्तो छ कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यस्तो छ कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । भन्सार विभागले हालै मात्र जारी गरेको ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाँचपास कार्यविधि २०७८’ जारी गरेसँगै कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु अबदेखि भन्सारमा सहजै छिटो जाँचपास हुने भएको छ ।

कार्यविधिले भन्सार अधिकृतले कोभिड-१९ प्रयोजनका लागि ल्याइएका अत्यावश्यक मालवस्तुको जाँचपासलाई उच्च प्राथमिकता दिएर शीघ्र जाँचपास गर्नुपर्ने व्यवस्था गरेको छ भने यसका लागि भन्सार प्रमुखले छुट्टै एकाइ खडा गरी कर्मचारी खटाउन सक्नेछ । आपूर्ति व्यवस्था सहज बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक बिदाको दिनमा जाँचपास गर्नेगरी भन्सार प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार आयातकर्ताले अत्यावश्यक मालवस्तु आयात गर्न नियमितजस्तै त्यस्तो मालवस्तु घोषणा गर्नु पर्नेछ । प्रज्ञापन पत्रसाथ त्यस्तो कागजात पेस गर्न नसक्ने अवस्थामा पनि पछि पेस गर्नेगरी भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्ने व्यवस्था गरिएको छ । त्यस्तो कागजात आयातकर्ताले विद्युतीय माध्यमबाट पनि पेस गर्न सक्नेछन् ।

कार्यविधिमा यस्ता मालवस्तुको गुणस्तर भने प्रमाणित हुनुपर्ने स्पष्ट उल्लेख छ । ‘अत्यावश्यक वस्तुमध्ये गुणस्तर प्रमाणित भएपछि मात्र जाँचपास गर्नुपर्ने प्रकृतिका मालवस्तु गुणस्तर प्रमाणित भएपछि मात्र जाँचपास गर्नु पर्नेछ’ कार्यविधिमा उल्लेख छ । जाँचपासका क्रममा स्थानीय स्तरमा कुनै समस्या उत्पन्न भएमा भन्सार प्रमुखले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्नसक्ने व्यवस्था छ ।

कार्यविधिमा कोभिड-१९ सँग सम्बन्धित तरल अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, ट्याङ्क, सिलिन्डर भल्भसहित दुई दर्जन वस्तुलाई अत्यावश्यक मालवस्तुका रूपमा समेटिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस