चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या


७ जेष्ठ २०७८, शुक्रबार


बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् ।

सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौँडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेकका स्थानीय तहले मेडिकल अधिकृत पाउन नसकेका हुन् । अस्थायी कोरोना अस्पतालमा भनेअनुसारको जनशक्ति नहुँदा समस्या भएको हो ।

जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा चिकित्सकका लागि तीनपटक आवेदन आह्वान गरेको भए पनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ । चिकित्सकका लागि तीनपटकसम्म आवेदन आह्वान गरेको भए पनि हालसम्म पनि चिकित्सक पाउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए ।

अस्थायी अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स, एक सहयोगीको दशरबन्दी रहेको तर सिगासमा अहिले एक स्टाफ नर्स कार्यरत रहेको बताइएको छ । चिकित्सक पाउनै मुस्किल भएपछि गाउँपालिकामा भएकै जनशक्तिबाट अस्पताल सञ्चालन गरिरहेको बोहराको भनाइ छ ।

जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि पटकपटक जनशक्ति माग गरिएको भए पनि चिकित्सक नपाइएको जनाइएको छ । सुर्नया गाउँपालिकाले वासुलिङ्ग स्वास्थ्यचौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भए पनि चिकित्सक नपाउँदा एक स्टार्फ नर्समात्रै रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन् । कोभिडका बिरामी बढ्दै गए पनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सक अभाव छ । यसले गर्दा उनीहरूको उपचारमा समेत समस्या भइरहेको छ ।

स्थानीय तहहरूमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका सङ्क्रमितको पनि स्थानीयस्तरमै उपचार गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीको उपचारका लागि गत वर्ष नै अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको थियो ।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहहरूले रु पाँच लाख शय्यालगायत सामग्री खरिदमा खर्च गर्न भनिएको थियो भने रु ५० हजार बराबरको औषधि खरिद गर्नुपर्ने थियो । यस्तै रु चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्ने जनाइएको थियो । बैतडीका दशरथचन्द नगरपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा ती अस्पताल सञ्चालनमा रहेका हुन् । बैतडीमा हाल ८०० बढी कोरोनाका सक्रिय सङ्क्रमित छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।

अध्यक्ष, उपाध्यक्षसहितलाई कोरोना, गाउँपालिका सेवा बन्द

बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले जानकारी दिए । सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा छन् । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको उपाध्यक्ष चन्दले बताए । जिल्ला बाहिर कतै नगएको र गाउँपालिकाकै काममा रहेका बेला सङ्क्रमण भएको हुनसक्छ उनले भने, ‘सङ्क्रमण देखिएका हामी सबैको अवस्था सामान्य छ, लक्षण खासै देखिएका छैनन् ।’

सङ्क्रमितले जडीबुटी सेवनमा जोड दिएको बताएका र छिट्टै सङ्क्रमण निको हुने बताएका छन् । सबै होम आइसोलेशनमा रहेका र हामी छिट्टै कोरोना जितेर काममा फर्किने गाउँपालिकाका अध्यक्ष साउदको विश्वास रहेको छ । उनले भने, ‘लक्षण केही छैनन्, अवस्था सामान्य नै छ, जडीबुटी सेवनमा जोड दिएका छौँ, छिट्टै सङ्क्रमणमुक्त हुन्छौँ ।’

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ १७ गतेसम्म बन्द रहेका जनाएको छ । सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै गाउँपालिकाका सेवा बन्द गरिएका हुन् ।

गाउँपालिकामा हालसम्म ८१ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए । कोरोना सङ्क्रमणबाट बच्नका लागि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनसमेत गाउँपालिकाले अनुरोध गरेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालयले पनि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस