बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना


७ जेष्ठ २०७८, शुक्रबार


लण्डन । बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी मेयर डा. क्यारोलिन स्टकबीच एक सम्झौतापत्रमा हस्ताक्षर गरी औपचारिकता दिइएको थियो । कार्यक्रममा बोल्दै राजदूत रेग्मीले यस सम्बन्धले नेपालसँग सांस्कृतिक, आर्थिक र थप नजिकको सम्बन्ध स्थापना गर्ने बताए।

बार्नेट बरोका उपमेयर लक्ष्य गुरुङको विशेष पहलमा जोडिएको उक्त भगिनी सम्बन्ध समारोह कार्यक्रममा बोल्दै मेयर क्यारोलिनले यस बरोमा रहेका नेपालीले यहाँको आर्थिक, सामाजिक एवं सबै क्षेत्रमा सहयोग गर्दै आइरहेको र अब बनेको यो सम्बन्धले नेपालमा पनि सोहीअनुरूप सबै क्षेत्रमा टेवा पुग्ने बताए ।

लामो समयदेखि नेपालसँग कुनै न कुनै रूपमा यो ठाउँलाई जोड्न खोजिरहेको सन्दर्भमा अहिले उपयुक्त समय आएको र यसले नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उपमेयरको भनाइ थियो ।

कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, नेपाली समुदायमा परिचित समाजसेवी सूर्य गुरुङको समेत उपस्थिति थियो । बेलायतमा लामो समय बस्दै आएका गुरुङ आफू पनि पोखरावासी नै भएको र आज यस सम्बन्ध स्थापना हुँदा एकदम खुशी लागेको बताइन् ।

पोखराजस्तै देशका अन्य ठाउँसँग पनि बेलायतका विभिन्न ठाउँलाई जोड्न सके बेलायत र हाम्रोबीचको लामो सम्बन्धलाई थप बलियो बनाउने समाजसेवी गुरुङको तर्क थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस