गणित रोग र यसका लक्षण : अभिभावकको भूमिका तथा शिक्षकको सुझाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गणित रोग र यसका लक्षण : अभिभावकको भूमिका तथा शिक्षकको सुझाव


६ जेष्ठ २०७८, बिहिबार


सारक
गणित भनेको गणना, नाप तथा विभिन्न ठोस सामाग्रीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको विज्ञान हो, जसमा तार्किकता, परिमाणात्मक गणना, र विषयवस्तुको अमूर्तताको अभ्यास देखिन्छ । गणितीय ज्ञान, सीप र अभिवृत्ति दैनिक जीवनका क्रियाकलापहरूसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् । गणितले मानिसमा समालोचनात्मकरूपले सोच्ने, तार्किक निर्णय दिने, दैनिक जीवनमा आउने समस्याहरूलाई समाधान गर्नेलगायत प्राप्त सूचनाको प्रस्तुति, विश्लेषण र उपयोगका लागि आवश्यक सिपहरूको विकासमा सहयोग पुर्‍याउँछ । समाजका सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक, भौगोलिक, ऐतिहासिक लगायत मानव जीवनका सम्पूर्ण पक्षसँग सम्बद्ध र तत्सम्बन्धी सम्पूर्ण विषयहरूको अध्ययनका लागिसमेत गणितीय ज्ञान र सिप अत्यावश्यक हुन्छ । आजको बदलिँदो परिवेशमा दिनप्रतिदिन नवीनतम प्रविधिको विकास हुँदै गएको छ । यसका लागि गणितीय ज्ञान, सीप अति आवश्यक पर्छ भने मानिसको दैनिक जीवनमा प्रयोगमा आउने विभिन्न वस्तुहरू, साधनहरू, यन्त्रहरू आदिलाई प्रयोगमा ल्याउन पनि ८गणितीय ज्ञान र सीपको आवश्यकता अपरिहार्य भएको छ । यसले गर्दा हरेक बालबालिकामा गणितीय ज्ञान हुनु आवश्यक छ । बालबालिकाहरूमा किन र कसरी गणितीय समस्याहरू देखिन्छन् वा गणित चिन्ताको विषय बन्छ पहिचान गर्ने र यी समस्याहरू बालबालिका आफै, अभिभावक र कक्षा शिक्षकहरूले कसरी कुन तरिकाबाट हल गर्न सक्छन् त्यसको समेत जानकारी गराइ बालबालिकाहरूलाई गणितीय चिन्तनबाट मुक्त गर्नु नै यस लेखको मुख्य उद्देश्य हो ।

समस्या कथन

विद्यालय तहमा मात्रै नभएर हरेक क्षेत्रमा गणितको प्रभाव र प्रयोग बढिरहेकै छ । औपचारिकरूपमा मात्र नभएर अनौपचारिकरूपमा पनि हरेक मानिसहरूले जानेर वा नजानेर गणितको प्रयोग गरी नै रहेको विद्यमान अवस्था छ । यति महत्त्वपूर्ण र आवश्यक विषय हुँदाहुँदै पनि गणित आम विद्यार्थीको प्यारो विषय बन्न सकेको छैन अथवा भनौँ बहुसङ्ख्यक विद्यार्थीको चिन्ताको विषय छ । विभिन्न सेवा प्रवेशका लागि समेत अहिले गणितीय ज्ञान अनिवार्य भएकोले पनि यसबाट भागेर होइन जुधेर समस्या समाधान गर्नुपर्छ । त्यसैले पनि गणितीय सीप अहिले आधारभूत आवश्यकता वनेको छ । त्यसैले पनि यो शीर्षकको यो लेख निम्न शोध समस्याको प्राज्ञिक समाधानमा केन्द्रित रहेको छ ।
– गणित विषयलाई किन जटिल मानिएको छ वा के यो रोग हो ?
– गणितीय रोगका लक्षणहरू कसरी थाहा पाउने ?
– गणितीय रोगको उपचारमा शिक्षक तथा अभिभावक र स्वयम् विद्यार्थीको भूमिका कस्तो हुनुपर्छ ?

१‍. गणित एक रोगका रूपमा
सामान्यतया रोग भनेको शारीरिक अस्वस्थता हो तर यहाँ गणित सिकाइमा समस्या देखिनुलाई व्याख्या गर्न खोजिएको छ । जसरी नियमितरूपमा शरीरलाई चाहिने सन्तुलित खाना, अभ्यास तथा सरसफाइ र नयाँपनले शरीरमा एक किसिमको प्रभाव पार्छ त्यसरी नै गणितप्रति बालबालिकाहरूले देखाउने वितृष्णा, चिन्ता, नैराश्यता वा डर नै गणितको रोग हो । जब शरीरमा यसले थोरेथोरै गरी आफ्नो प्रभाव जमाउँदै जान्छ, त्यसपछि यसबाट बाहिर निस्कन ठूलै कसरत गर्नुपर्छ । गणित सिकाइलाई नियमितता दिन नसक्नु त्यसका सम्बन्ध र जानकारी बुझ्न नसक्नु र सिकाइमा निरन्तरता नदिनु र अभ्यास नै नगर्नु यसका कारक तत्त्वहरू हुन । यसका पछाडिको मुख्य कारण भनेकै गणित व्यवहारिक बनाउन नसकिनू, प्रारम्भिक ज्ञान सही तरिकाले नसिकाइनु अथवा समाजमा यसको प्रभाव, प्रयोग र महत्त्वपूर्णता स्थापित गर्न नसक्नू नै हो । जबसम्म विद्यार्थी गणितमा रमाउन सक्दैन तबसम्म गणितसँग उसको सम्बन्ध राम्रो बन्न पनि सक्दैन । यदि गणितलाई दैनिक जीवनसँग जोडेर सिकाउने हो अथवा यसको व्यवहारिक पक्षलाई पनि सहज बनाउने हो भने गणित सबैको प्रिय विषय बन्ने थियो । धेरै समस्याहरू छोटो समयमै सहज तरिकाले सम्पन्न गर्न सकिँदा आम नागरिकहरूमा यसको लोकप्रियता र महत्त्वपूर्णता तीव्र हुने कुरामा कसैको दुई मत रहँदैन होला । वालवालिकाहरुको प्रारम्भिक अवस्था वा विद्यालय प्रवेशबाटै गणित विषय सुरु हुन्छ । सुरुबाटै बालबालिकाहरूको गणितीय ज्ञान प्रभावकारी बनाउन सकियो भने पछि पनि राम्रो हुन्छ अन्यथा कमजोर हुन्छ । जसरी घर निर्माणका लागि सुरुमै बलियो जग बनाइयो भने त्यो घर राम्रो र बलियो बन्छ तर जगै कमजोर भएमा घर पनि कहिले ढल्छ वा भत्किन्छ थाहा हुँदैन । त्यसैले बालबालिकाहरूलाई गणितमा सक्षम बनाउनु छ भने सुरुमै ख्याल गनुपर्छ अन्यथा नयाँ नयाँ समस्याहरू थपिँदै गएमा दिमागमा गणितप्रति वितृष्णा पैदा हुन्छ अथवा साना साना कमजोरीहरू जम्मा हुँदै अन्ततः यसले एउटा रोगको रूप लिन्छ ।

यहाँ बालबालिकाहरू कसरी र किन गणितको चिन्तामा परेका हुन्छन् ? वा तपाँईको बच्चाले गणितमा के कसरी सङ्घर्ष गरिरहेका छन् ?, गणित सिकाईका क्रममा के कस्ता व्यवहारहरू देखाउँछन् ? वा बाधा व्यवधानहरू भोग्नुपरेको छ । त्यसका लक्षणहरू के के हुन सक्छन् र ती लक्षण अनुसार समस्याको समाधान गर्न वा उपचार गर्न, अभिभावक वा गणितिज्ञको सल्लाह, सुझाव के हुन्छ त्यसको बारेमा समाधान सहितका औषाधिहरुको व्याख्या गर्न खोजिएको छ ।

२. गणित रोगका लक्षणहरू
गणित सिकाईका क्रममा बालबालिकाहरूले भोग्ने समस्याहरू अथवा उनीहरूले देखाउने अपरिचित व्यवहार नै यो रोगका लक्षणहरू हुन । यहाँ गणित रोगका लक्षणहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

 आधारभूत गणितीय धारणा तथा तथ्यहरू सम्झन सक्दैन ।
तपाईँको बच्चा विगतमा सिकेका गणितीय धारणा, परिभाषा वा तथ्यहरू सम्झनै सङ्घर्ष गरिरहेको हुनसक्छ । हरेक नयाँ विषयवस्तुको सिकाईका लागि आवश्यक पर्ने पूर्व ज्ञान तथा जानकारीको अभावमा थप सिकाई प्रभावित भएको हुनसक्छ । गणित सिकाइका लागि महत्त्वपूर्ण मानिने साधारण जानकारी नै सिकेको छैन र त्यसले गर्दा नै नयाँ तथ्यहरू सम्झन वा स्मरण गर्न सक्दैन ।

 विशिष्ट गणितीय धारणा तथा तथ्यहरू सिक्नै गाह्रो मान्छ ।
तपाईँको बच्चा कुनै पनि विषयवस्तुको सिकाईका लागि आवश्यक पर्ने ज्ञान तथा जानकारीको निर्माण गर्न त्यति चासो नदिएको वा बुझ्न नखोजेको जस्तो हुनसक्छ । अथवा गणित सिकाई प्रति नै नैराष्यता महसुस गरेको त छैन ?यी र यस्ता खालका अस्वाभाविक व्यवहार प्रदर्शन पनि यो रोगको कारक तत्त्व हुन सक्छ ।

 समय व्यवस्थित गर्न सक्दैन ।
तपाईँको बच्चा गणित सिकाईका लागि आवश्यक पर्ने समय व्यवस्थापन गर्न नसकेर अथवा पढ्ने समय तालिका मिलाउन नसकेर चिन्तित त भएको छैन ? गणित विषयमा पर्याप्त मात्रामा अभ्यास गर्नुपर्ने हुन्छ । त्यसका लागि स्वाभाविकरूपमा अन्य विषयको तुलनामा यसका लागि धेरै समय छुट्टाउनुपर्ने हुन्छ तर बच्चा अन्य विषयमा जसरी नै यसमा पनि छोटो समय दिएको छ वा अभ्यास नगरेर पढ्ने मात्र काम गरेको छ भने पनि यसको सिकाइले पूर्णता पाउन सक्दैन र पछि विस्मरण हुने सम्भावना हुन्छ । अझ भनौँ समस्या देखेजस्तो लाग्ने र जानेको छु जस्तो पनि हुने तर प्रक्रियागत रूपमा गर्न नसक्ने समस्या हुन्छ । त्यसैले भनिन्छ गणित पढ्ने होइन लेख्ने हो ।

 गणितीय परिवारहरुबीचको सम्बन्ध जोड्न सक्दैन ।
तपाईँको बच्चा गणितमा कुनै पनि विषयवस्तुको सम्बन्ध स्थापित गर्न सक्दैन वा जान्दैन । गणितका अधिकांश विषयवस्तुहरू एक अर्कामा अन्तर सम्बन्धित हुन्छन् , तर बालबालकिाहरुले् तिनीहरुबीचको सम्बन्ध बुझ्न सकेनन् भने सिकाई प्रक्रिया कमजोर बन्छ । जस्तै १० र २ जोड्दा १२ जानेकोले १२ बाट २ घटाउँदा १० वा १२ बाट १० घटाउँदा २ हुन्छ भन्ने बुझ्नुपर्ने हो । यदि यस्तो सामन्जस्यता नभएमा पनि समस्या हुन्छ । गणितका धेरैजसो समस्याहरू एकआपसमा अन्र्तसम्वन्धित हुन्छन् त्यसैले एउटा सिकाइ वा जानकारी अर्को सिकाइका लागि पूर्वाधार भएर रहेको हुन्छ ।

 दिमागी गणित कमजोर छ ।
तपाईँको बच्चा हरेक समस्या समाधानका लागि दिमागको प्रयोग भन्दा हातका औलाको बढी प्रयोग गर्छ । जस्तै चित्रात्मक रूपमा नभएका गणितका जतिसुकै ठूला जोड, घटाउ, गुणन, भाग आदिमा पनि हातकै औला भाँच्न खोज्छ भने त्यो पनि एक समस्याकै रूप हो ।

 दैनिक जीवनसँग गणितलाई जोड्न सक्दैन ।
तपाईँको बच्चा कुनै पनि सैद्धान्तिक रूपमा सिकेको सिकाइलाई फरक सन्दर्भमा वा अन्य नयाँ ठाउँ वा परिवेशमा जोड्न सक्दैन । अथवा सामान्य जोड, घटाउका सिकाई पनि दैनिक किनमेलमा प्रयोग गर्न सक्दैन । बजारमा सामान किन्दा पैसाको समग्र कारोबार गर्न जान्दैन भने पनि उसको सिकाई अपूरो छ भन्ने बुझ्नुपर्छ । गणितलाई बुझ्ने भन्दा पनि घोक्ने रूपमा बुझेको छ भने त्यो सबैभन्दा ठूलो समस्या हो ।

 कुनै पनि समस्या समाधानमा फरक प्रक्रिया वा विधि प्रयोग गर्न सक्दैन ।
तपाईँको बच्चा कुनै पनि विषयवस्तुको सिकाइमा कसैले सिकाएको प्रक्रिया वा विधि बाहेक अन्य तरिका प्रयोग गर्न सक्दैन । अथवा शिक्षकले जे जसरी पढाए, त्यो बाहेक अरू तरिका वा विधि नै सोच्न सक्दैन भने बुझ्नुहोस् की ऊ गणितको समस्यामा मै छ र वास्तविक बुझाई ग्रहण गर्न सकेको छैन ।

 अन्य विषयमा भन्दा गणितमा कम चासो दिन्छ ।
तपाईँको बच्चा विद्यालय वा घरमा पढ्ने समयमा अरू विषयको तुलनामा गणितका लागि अत्यन्तै कम समय दिन्छ भने यो बुझ्नुहोस् की उ गणितप्रति अरुचिकर देखिन्छ । कक्षाकोठाको प्रस्तुतीकरण होस् वा गृहकार्य गर्ने सवालमा होस्, उसले गणितमा भरसक कम समय दिन खोज्दै छ । घरमा होस वा विद्यालयमा कसैले पढ भन्यो भने गणित विषय त पल्टाउँदै पल्टाउँदैन वा अन्य विषय नै अध्ययन गर्न खोज्छ । अझ यति मात्र नभएर कसैले गणित पनि अभ्यास गर न भन्यो भने झिझिन्छ भने वुझ्नुहोस उसमा गणित रोगका लक्षणहरू छन् ।

 गणित कक्षाकोठा, शिक्षक, परीक्षा वा गृहकार्यबाट चिन्तित छ ।
तपाईँको बच्चा गणितको नाम सुन्दैमा त्रसित छ अथवा तनावको मुख्य श्रोत नै गणित ठान्छ भने यो बुझ्नुपर्छ की ऊ गणित सिकाइप्रति उत्साहित नै छैन । उसलाई यतिसम्म की गणित किताब मात्र होइन गणित कक्षाकोठा र गणित शिक्षकसँग पनि त्रसित हुन खोज्छ । गणितको परीक्षा र गृहकार्यप्रति पनि वितृष्णा पैदा भएको हुनसक्छ ।

 अरूले गणित मन नपराएको वा घृणा गरेको कुरा तपाँईसँग भन्छ ।
तपाईँको बच्चाले अरू कसैले कतै गणितको बारेमा नराम्रो भनेको वा अरू धेरै जनाले मन नपरेको कुरा सुनेको छ भने खुसी हुँदै तपाँईसंग सेयर गर्छ भने बुझ्नुहोस् की उसले पनि गणितलाई घृणा गर्दछ र गणितको औचित्यता नभएको वा महत्त्वपूर्ण विषय नभएकोभन्ने कुरामा आफैमा खुसी महसुस गर्छ ।

यदि तपाईँको बच्चाले पनि यी माथिका जस्तै लक्षण देखाएमा जतिसक्दो छिटो सही मार्गमा ल्याउन तपाईँ अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ ।जसका लागि तपाईँ स्वयम पनि केही गर्न सक्नुहुन्छ अथवा कसैको सहायता लिन पनि सक्नुपर्छ ।

३. गणित रोगको उपचार
बालबालिकाहरूमा गणित सिकाइमा समस्या देखिएपछि त्यसको समाधानमा शिक्षक तथा अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । बालबालिकाहरूका समस्या पहिचान गरी समाधानका योजनाबद्ध कार्यक्रम तय गर्न अभिभावक तथा शिक्षकहरूको सकारात्मक भूमिका रहन्छ ।

३.१ गणित रोगको उपचारमा अभिभावकको भूमिका
वलवालिकाहरुमा देखिने यस्ता खालका रोगको न्यूनीकरण गर्न अभिभावकहरूले आफ्ना बालबच्चाहरूसँग सँगै बसेर समय व्यवस्थापन गरी निम्नानुसार सहजीकरण गर्नुपर्छ ।

 प्रत्येक साँझ बच्चासँगै अभ्यासमा साथ दिनुहोस्
तपाइको बच्चा विद्यालयबाट घर आइसकेपछि जब साँझतिर गृहकार्य गर्न बस्छ वा पढ्न र लेख्न थाल्छ, तपाईँ पनि ऊसँगै बसेर सहयोग पुराउनुहोस्, उसलाई परेका कठिनाइ के के छन् बुझेर सहजीकरण गर्नुहोस् । यदि आफूलाई गणित आउँछ भने आफै नत्र कोही गणित शिक्षकको व्यवस्थापन गरेर भए पनि आवश्यक न्यूनतम सीप सिकाइमा निरन्तर आफ्नै उपस्थितिमै बच्चाको मूल्याङ्कन गर्नुहोस् ।

 समस्याको क्षेत्र पहिल्याइ उचित व्यवस्थापन गर्नुहोस्
तपाइको बच्चा गणितको कुन कुन विषयवस्तु वा क्षेत्रप्रति सङ्घर्षरत छ पहिले त्यो पहिचान गर्नुहोस् । त्यसपछि मात्र तपाइलाई आवश्यक पर्ने समस्या समाधानका श्रोतहरू प्रयोग गर्न वा समाधानको योजना बनाउन सहज हुन्छ, जसका लागि तपाईँले शिक्षकसँग सहजीकरण गरेर आवश्यकताअनुसार शिक्षक व्यवस्थापन पनि गर्न सक्नुहुन्छ ।

 गणित रमाइलो छ भन्ने बताइदिनुहोस् ।
गणित चिन्ताको विषय नभएर यो त एउटा रमाइलो खेल जस्तै हो भन्ने कुरामा विभिन्न तरिका सहितका विषयवस्तु समावेश गरेर आफ्नै उपस्थितिमै जानकारी दिनुहोस् । जस्तै लुँडोको खेलबाट छिट्टै जोड सिक्न सक्छ । दिमागी गणितका खेलबाट पनि जोड, घटाउ, गुणन, भाग सिक्न सहज हुन्छ ।

 गणितको उपयोगिता बताइदिनुहोस् ।
तपाईँको बच्चाले सैद्धान्तिक रूपमा सिकेको सिकाइलाई फरक सन्दर्भमा वा अन्य नयाँ ठाउँ वा परिवेशमा जोड्न मिल्ने खालका ठाउँमा प्रयोग गरेर देखाउनुहोस् वा गर्न प्रेरित गर्नुहोस् । बजारमा सामान किन्न पठाउँदा उसले गरेको पैसाको कारोबारलाई तुरुन्तै सिकेको सिकाइसँग जोड्दिनुहोस् । जसबाट उसले गणितको उपयोगिता देख्न सक्छ र गणितप्रति सकारात्मक धारणा राख्न थाल्छ ।

 सकारात्मक बनी प्रेरणा दिनुहोस् ।
तपाईँको बच्चा गणितमा जतिसुकै कमजोर भए पनि उसलाई हौसला दिँदै सिकाइ प्रक्रियामा नझर्कीकन सहायता पुराइराख्नुहोस्, जसबाट उसमा सिकाइप्रति उत्सुकता देखिरहिरहोस् । उसलाई नैराश्य बनाउने कुनै पनि गतिविधि नराखी समस्या समाधान प्रक्रिया रोचक बनाउनुहोस् ।

३.२ गणित रोगको उपचारमा एक शिक्षकको भूमिका तथा सुझाव कस्तो हुनुपर्छ त ?
बालबालिकाहरूको सिकाइमा प्रभाव पार्ने मुख्य पक्ष नै विद्यालयीय शिक्षा हो । त्यसैले विद्यालयमा प्रदान गरिने शिक्षा मात्र नभएर शिक्षकहरूको व्यवहार तथा बालबालिकाहरूको हेरविचार तथा उनका हरेक क्रियाकलापहरूको निगरानी पनि महत्त्वपूर्ण हुन्छ । एक जना शिक्षकले बालबालिकालाई दिने सुझाव निम्नानुसार हुन सक्छन् ।

 दैनिक गृहकार्य गर्नुहोस् 
गृहकार्यलाई कहिल्यै पनि विकल्पका रूपमा लिनुहुँदैन । यसले कक्षाकोठामा सिकेको सिकाई वा धारणालाई मजबुत बनाउने वा स्मरण योग्य बनाउने काम गर्छ र आवश्यक परेको बेलामा वा बिर्सेको समयमा सम्झाउन सहयोग पुराउँछ । तत्कालीन सिकाइलाई बुझ्ने तथा संरक्षण गरेर राख्ने गृहकार्यलाई सङ्गठित बनाएर एकीकृत रूप दिँदा आवश्यक परेको बेलामा हेर्न सकिन्छ, जसले बिष्मरणबाट पनि जोगाउँछ । त्यसैले गृहकार्यलाई नियमित कार्यको रूपमा महत्त्वपूर्ण स्थान दिनुहोस् ।

 कक्षा शिक्षण कहिल्यै नछुटाउनुहोस् 
गणित शिक्षण सिकाई क्रियाकलाप विभिन्न सिकाइको सङ्गठित रूप हो । हरेक नयाँ सिकाइमा अगाडिको सिकाई तथा सीप अपरिहार्य हुन्छ । कक्षाकोठामा हरेक दिनको शिक्षण सिकाई तीव्र रूपमा अगाडि बढिरहन्छ । हरेक दिन नयाँ नयाँ परिभाषा , धारणाहरू तथा सूत्रहरू र नियमहरू शिक्षण गरिएको हुन्छ । आज जे सिकेको छ, त्यही भोलिका लागि आधार बन्छ । त्यसैले कक्षा शिक्षणमा नियमित हुनुपर्छ । नत्र गणितले अनुपस्थितलाई दण्ड दिन्छ र त्यसको प्रभाव रहिरहन्छ । त्यसैले कक्षाकोठाको शिक्षणमा विशेष कारण अनुपस्थित भइहालेमा अर्को दिन तुरुन्तै साथीहरूसँग छुटेको विषयवस्तुमा जानकारी लिनुपर्छ, अन्यथा गणितले तपाईँमा नयाँपन थप्दै जान्छ र जुन पछि झाँगिँदै गएर समस्या बन्छ ।

 एक जना साथीलाई अध्ययन गर्ने सहयात्री बनाउनुहोस् 
विभिन्न कारणले कहिलेकाहीँ कक्षाकोठामा अनुपस्थिति बाध्यता हुन सक्छ, त्यसैले एक जना मनमिल्ने साथीलाई सहयात्री बनाउनुहोस् । यसले तँपाइहरुलाई सहायता पुराउँछ । कहिलेकाहीँ सामान्य अस्पष्टताले सताइरहेको हुन्छ, जुन शिक्षकसँग सोध्न पनि असजिलो मान्नुहुन्छ भने त्यसका लागि पनि सहयात्री साथी महत्त्वपूर्ण हुन्छ । ऊसँग विना हिचकिचाहट सहज तरिकाले सिक्न पाइन्छ । अहिले विश्वमै गणित शिक्षणमा साथीहरुबीचको सह शिक्षण र अन्तर्क्रियालाई प्रभावकारी मानिएको छ । एकआपसमा अन्तर्क्रिया गरेर छलफल गर्दै सिक्ने र सिकाइलाई दिगो बनाउन यो महत्त्वपूर्ण हुन्छ । त्यसैले यसलाई गणित शिक्षणमा उपयोग गर्नुहोस् ।

 शिक्षकसँग राम्रो सम्बन्ध स्थापित गराउनुहोस् 
हरेक शिक्षकसँग तँपाइ जस्तै सयौँ विद्धार्थीहरु अध्ययन गर्छन्, जसले गर्दा एक शिक्षकको नजरमा सबैले बराबर तर सामान्य सम्बन्ध राखेकै हुन्छन् तर तपाईँले यदि गणित सहज र सरल बनाउने हो भने गणित शिक्षकसँग राम्रो सम्बन्ध स्थापित गराउनै पर्छ । त्यसैले शिक्षणको सुरुमै गणित शिक्षकसँग नजिकको सम्बन्ध स्थापित गरी आफ्नो परिचय गराउनुहोस् र गणितप्रति उत्प्रेरित भएको महसुस दिलाउनुहोस्, जसले शिक्षकलाई यो विद्यार्थी गणित सिक्नमा उत्साहित छ र नयाँ नयाँ सिक्न खोज्छ भन्ने आभास दिलाउनुहोस् । शिक्षकलाई आफ्ना अभिभावकसँग पनि परिचित गराई तपाईँको अवस्था बारेमा निरन्तर जानकारी लिन लगाउनुहोस् । यसले गर्दा शिक्षकमा निरन्तर तपाईँप्रति चासो बढाइरहन्छ ।

 प्रत्येक गल्तीको विश्लेषण गर्नुहोस् 
हाम्रो बानी वा संस्कार भनौँ, गल्तीलाई नजरअन्दाज गर्ने र सहीलाई मात्र काखी च्याप्ने खालको छ । हरेक विद्यार्थीले विभिन्न गल्तीका बाबजुद पनि परीक्षामा पास हुन खोज्ने तर गल्ती किन, कसरी भयो चासो नदिने वा नखोज्नाले पनि गणितमा समस्या थपिएको हुनसक्छ । त्यसैले गल्तीलाई यतिकै नछोड्नुहोस्, पहिचान गरी निरन्तर अभ्यास गरेरै भए पनि त्यसलाई बुझ्ने र सही कुरा पत्ता लगाएरै छोड्नुपर्छ । जसका लागि साथीहरू अथवा शिक्षकको र विभिन्न प्रविधिको सहायता लिन सकिन्छ ।

 सहायता तुरुन्तै लिनुहोस् 
यदि तपाईँलाई कुनै कुरा गाह्रो लागेको छ अथवा पढेको कुरामा स्पष्टता छैन भने त्यसलाई जम्मा गरेर राख्ने वा पछि सिकौला भनेर कहिल्यै पनि नभन्नुहोस् । जतिसक्दो छिटो जहाँबाट हुन्छ, सहायता लिनुपर्छ । त्यसका लागि हरेक शिक्षकले तँपाइलाइ स्वागत गरेकै हुन्छन् । भोलि भोलि भनेर साना साना समस्यालाई जम्मा गर्दा त्यसले ठूलो रूप लिन सक्छ ।

 आफ्नो जिज्ञासा वा प्रश्न नलुकाउनुहोस्
हामीले सिकेका सिकाइबाट निरन्तर नयाँ नयाँ प्रश्नहरू बन्न सक्छन् । तपाँईसँग पनि केही जिज्ञासा वा खुल्दुली छन् भने त्यसलाई भित्र नदबाउनुहोस्, सोधिहाल्नुहोस् र साथीहरूलाई पनि सोध्न प्रेरित गर्नुहोस् । राम्रो प्रश्न सोध्नु भनेको दिगो सीप निर्माण गर्नु हो । जति बढी प्रश्नोत्तर तथा अन्तर्क्रिया र छलफल हुन्छ त्यति बढी सिकाइ सहज बन्छ । यदि कहिलेकाहीँ प्रश्न सोधिरहँदा शिक्षकले तपाईँलाई दबाउन खोज्ने वा हतोत्साहित गर्न खोज्छन् भने विद्यालय प्रशासन वा अभिभावकसँग पनि बताउनुपर्छ, जुन अत्यन्तै ठूलो संवेदनशील समस्या हो ।

 आधारभूत सीप अनिवार्य रूपमा सम्झनुहोस् 
गणित विषयमा केही यस्ता सीपहरू छन्, जुन हरबखत चाहिरहन्छन् त्यस्ता सीपहरू कण्ठस्थ हुनुपर्छ । सामान्यतया गणितीय विषयवस्तुमा जोड, घटाउ, गुणन र भाग अपरिहार्य मानिन्छ र गुणनका तालिकाहरू कम्तीमा दश सम्म कण्ठस्थै हुनुपर्छ । यदि कण्ठस्थ छैन भने निरन्तर अभ्यास गराई त्यसको सम्झना गर्नुपर्छ । त्यसै गरी माध्यमिक तहको गणितमा बिजगणितको आधारभूत सीपहरू, चल, अचल, मिल्दा वा नमिल्दा पदहरू र तिनीहरूबिचका जोड, घटाउ, गुणन र भागका सम्बन्धमा पनि स्पष्ट हुनुपर्छ । जसरी नेपाली सिकाइमा क देखि ज्ञ सम्म र तिनका आकार, इकार, उकार र अङ्ग्रेजी सिकाइमा ब् तय श्सहित खयअबदगबिचथ आधारभूत सीपहरू हुन्छन्, त्यस्तै गणितमा पनि यी माथिका सीपहरू महत्त्वपूर्ण हुन्छन् ।

 निरन्तर अभ्यास गरिरहनुहोस् 
भनिन्छ, गणित नौ दिनमा नौलो हुन्छ र बिस दिनमा बिर्सिन्छ । आज जानेको विषय पनि अभ्यास गरिएन वा यतिकै थन्काएर कापीमा छ भन्दै राखियो भने त्यो बिर्सिइन्छ, त्यसैले हरेक हप्तामा हरेक पाठको पुनरावृत्ति गरिरहनुपर्छ । अन्य विषयमा जस्तो गणित पढेर वा हेरेर स्मरण गर्न सकिँदैन । यसका लागि अभ्यास गर्नै पर्छ वा प्रश्नहरूको समाधान नै गनुपर्छ । गणित यस्तो विषय हो, जसको जति बढी अभ्यास गरिन्छ र समस्या समाधान गरिन्छ त्यति बढी गर्न प्रेरणा प्रदान हुन्छ । हरेक प्रश्नहरूका आआफ्नै प्रक्रिया, नियम तथा सूत्रहरू हुन्छन्, त्यसैले गणितमा राम्रो गर्ने हो भने परीक्षामा जानुभन्दा अगाडि एक पटक सबै खालका समस्याहरू समाधान गर्नुपर्छ वा अभ्यास गर्नै पर्छ । गणित एक निश्चित क्रमबद्यतामा आधारित हुने हुनाले समस्याहरू समाधान गर्दा वा सम्झनुपर्दा सम्बन्धहरू स्थापित गरी सरल देखि जटिल रूपमा मिलाउन सक्नुपर्छ, जसले सिकाइमा उत्प्रेरणा बढाउँछ ।

 सिकाइ सरलदेखि जटिल क्रममा लैजानुहोस् ।
गणितका हरेक विषयवस्तु एकअर्कामा अन्तर सम्बन्धित हुन्छन्, एक सिकाइले अर्को सिकाइमा मद्दत पुराउछ, त्यसैले सिकाइलाई क्रमबद्ध रूपमा सरल सरल विषयवस्तु सिकाएर मात्र जटिल विषयवस्तु सिकाउनुपर्छ । एकै पटक गाह्रो विषयवस्तु मात्र सिकाउन खोज्दा विभिन्न समस्याहरू अथवा कठिनाइहरू आउन सक्छन् । जस्तै जोड, घटाउ, गुणन र भागको साथै सरल गर्ने नियम नसिकाइ सरल गर्ने समस्या सिकाउँदा उचित प्रतिफल प्राप्त गर्न सकिँदैन ।

 उत्तर निकाल्न भन्दा उचित प्रक्रियामा ध्यान दिनुहोस् ।
गणित विभिन्न नियम, सूत्र तथा परिभाषामा आधारित रहन्छ । गणितमा प्रतिफल भन्दा प्रक्रिया बढी महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक समस्या समाधानमा उत्तर न्किाल्न भन्दा उक्त समस्या समाधानका लागि आवश्यक पर्ने जानकारीहरू के के चाहिन्छ, त्यो पहिचान गर्न सक्नुपर्छ । प्रक्रिया सही भएपछि स्वाभाविक रूपमै सही निष्कर्ष आउँछ ।

 गणितको शब्दकोश बनाउनुहोस् 
गणितलाई प्यारो विषय बनाउनका लागि यसलाई पनि स्याहार गर्नु जरुरी छ । यसका पनि आआफ्नै शब्दावली तथा पहिचानहरू छन्, अथवा निश्चित सङ्केतहरू, धारणहरु तथा परिभाषाहरू छन् तिनलाई नोट वा फ्ल्यास कार्ड बनाएर आफ्नो पढ्ने कोठा वरिपरि टाँस्नुहोस् । जसले पनि गणित सिकाइमा सहजता नै ल्याउँछ ।

 क्याल्कुलेटर चलाउन सिक्नुहोस् 
गणित सिकाईका लागि क्याल्कुलेटरको प्रयोग अनिवार्यता हुन्छ । यसको प्रयोग गर्न सोचेजस्तो सजिलो छैन । तपाईँले क्याल्कुलेटरमा दबाएका हरेक क्रियाबाट आउने प्रतिक्रिया बुझ्नू नै यसको सिकाई हो । जस्तै उदाहरणको लागि तपाईँले -3 को वर्गको उत्तर खोज्दै हुनुहुन्छ भने के गर्नुहुन्छ ,पक्कै पनि-32जसबाट तपाईँले उत्तर पाउनुहुन्छ -9 तर वास्तविकता त्यस्तो नभएर (-3)2 = 9 हुन्छ । त्यसैले प्रक्रिया तथा नियमहरू गणित विषयवस्तुका लागि महत्त्वपूर्ण हुन्छ ।

 सूचना प्रविधिको प्रयोग गर्नुहोस् 
अहिलेको २१ औँ शताब्दी तथा सूचना र प्रविधिमा आएको व्यापक परिवर्तनले विश्व नै साँघुरो भइरहेको अवस्थामा छ । विश्वकै जुनसुकै ठाउँमा घटेका घटनाहरू क्षण भरमै थाहा पाउन सकिन्छ । जुनसुकै समस्या समाधान गर्न तथा जानकारी चाहिएमा तुरुन्तै पत्ता लगाउन सकिन्छ । गणित विषयसँग सम्बन्धित हरेक समस्याहरूको समाधान जसरी खोज्यो त्यसरी नै प्राप्त गर्न सकिन्छ । युट्युब तथा गुगलमा गएर आफ्नो समस्या प्रविष्ट गर्ने बित्तिकै समाधानका सयौँ जानकारीहरू आउँछन् र आवश्यकताअनुसार छनौट गरी हेर्न वा सिक्न सकिन्छ । यसबाट लिखित जानकारी मात्र नभएर शिक्षकले पढाएकै दृश्य देख्न सकिन्छ, यसबाट पनि छुटेका पाठहरू तथा स्पष्ट नभएका विषयवस्तुको थप जानकारी प्राप्त हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस