राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आजै सार्वजनिक हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आजै सार्वजनिक हुने


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए । विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ । ‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड–१९ सङ्क्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ ।

सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि फरक मतपत्र हुनेछ। फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको हुनेछ। मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस