अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन पक्राउ


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिण्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरु विरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस