निषेधाज्ञाको मौका छोपी वन सम्पदा चोरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निषेधाज्ञाको मौका छोपी वन सम्पदा चोरी


५ जेष्ठ २०७८, बुधबार


Forest काठ

महोत्तरी । निषेधाज्ञाको मौका छोपी महोत्तरीमा वन सम्पदा चोरीका घटना बढेका छन् ।

पछिल्लो पटक आज बिहानै वन सुरक्षा गस्तीले बर्दिबास नगरपालिका-८ हाथीलेटबाट ४० क्यूफिट साल (साखु) को काठ बरामद गरेको छ । वन सुरक्षा गस्तीले लखेट्दै जाँदा तस्कर काठ राखिएको साइकल छाडेर भागेका थिए ।

सागरनाथ वन विकास परियोजनाको हात्तीलेट युनिटको १० नम्बर प्लटबाट तस्करले सालका रुख कटान गरेका हुन् । जम्मा १० गोलिया बनाएर एक/एक साइकलमा राखेर लैजाँदै गरेको थाहा पाएर पिछा गर्दा काठ बरामद भएको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थानले जनाएको छ । तस्कर भने भाग्न सफल भएको गस्ती टोलीका प्रमुख सहायक वन अधिकृत सन्तोषकुमार यादवले बताए ।

बरामद काठ र साइकल सबडिभिजन वन कार्यालय बर्दिवासमा राखिएको र तस्करहरुको खोजी जारी राखिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा असहज परिस्थितिको फाइदा उठाउँदै वन क्षेत्रमा तस्करहरुको चहलपहल केही दिनयता तीब्र रुपमा बढेपछि निगरानीलाई बढाइएको थियो । एक साता पहिले मात्र शिकार गर्न वन पसेका शिकारीको पिछा गर्दै प्रहरीले बर्दिबास–५ टुटेश्वर वन क्षेत्रबाट एउटा स्कुटी, एक थान भरुवा बन्दुक, फलामका काँटी र बारुद बरामद गरेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस