महोत्तरीमा एउटै गाउँका ७ जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महोत्तरीमा एउटै गाउँका ७ जनाको मृत्यु


५ जेष्ठ २०७८, बुधबार


महेत्तरी । कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सात जनाको मृत्यु भएपछि गाउँबासी त्रसित भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सात जनाको मृत्यु भएपछि सो गाउँ भर त्रास फैलिएको हो । स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जातिका ६ र अन्य जातिका एक गरी सात जनाको मृत्यु भइसकेपछि अहिले सो गाउँका सम्पूर्ण बासिन्दा भयपूर्ण जीवन बिताइरहेका छन् ।

सो गाउँमा मृत्यु भोज, विवाह भोज र व्रतबन्ध भोजजस्ता कार्यक्रमहरू भइरहेको र सयौँको सङ्ख्यामा मानिसहरु एकै थलोमा बसेर भोजभतेर खाने गरेको पाइएको छ । कोरोनाकै कारण विभिन्न अस्पतालमा मृत्यु भएकाहरुको पनि गाउँमा दाहसंस्कारदेखि श्राद्ध कर्म भइरहेको र सो क्रममा भोजभतेर र सयौँ मानिस एकै ठाउँमा जमघट हुने गरेका छन् । यसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरी अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले स्वीकार गरे ।

वडाध्यक्ष झाले आफू गाउँलेहरूलाई भीडभाड नगर्न, भोजभतेर नगर्न, विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गर्न भनिरहँदा पनि गाउँलेहरु आफ्नो परम्परा र संस्कार भन्दै बेवास्ता गर्दै सबै क्रियाकलापहरू सञ्चालन गर्ने गरेको बताए ।

यस सम्बन्धमा गाउँलेहरुले इलाका प्रहरी कार्यालय सहोडबामा गुनासो गर्दा प्रहरी आउन नमान्ने र अनेको बिन्ती भाउ गरेपछि आए पनि विवाह गर्ने पक्षसँगै मिलेर रु हजार/दुई हजार घुस खाएर डिजे बाजा बजाउन र नाचगान गर्न रोक्नुको साटो झन् बजाएर मनोरञ्जन गर्न छुट नै दिने गरेको नाउँ नछाप्ने सर्तमा दर्जनौँ स्थानीयवासीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस