अस्थायी कोभिड अस्पताल बनाउन काँग्रेसले दियो भवन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्थायी कोभिड अस्पताल बनाउन काँग्रेसले दियो भवन


४ जेष्ठ २०७८, मंगलबार


मार्तडी । जिल्लामा दिन प्रतिदिन नयाँ भेरियन्टका कोरोना सङ्क्रमित बढ्दै गएपछि उपचारमा अभाव हुन नदिन नेपाली काँग्रेस बाजुराले पार्टी कार्यालय रहेको विपी स्मृति भवनलाई अस्थायी कोभिड अस्पताल बनाउन दिने घोषणा गरेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३११ पुगेको र सङ्क्रमितलाई उपचारका लागि असहज नहुन दिनका लागि पार्टी कार्यालय नै कोभिड अस्पताल बनाउन दिने घोषणा गरेको काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताएका छन् ।

जिल्ला अस्पताल बाजुरामा समेत कोभिड अस्पताल बनाउने ठाउँ नभएको र दैनिक रुपमा बिरामीको सङ्ख्या बढ्दै गएकाले नागरिकको स्वास्थ्योपचारका लागि पार्टीका नेताहरुको सल्लाहअनुसार नै उक्त कार्यालय कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको पार्टीका सचिव दीपकविक्रम शाहले जानकारी दिए । नागरिकको स्वास्थ्य उपचार नै ठूलो भएकाले पार्टी कार्यालय सहज रुपमा कोभिड अस्पताल बनाउन जिल्ला सङ्कट व्यवस्थापन समितिलाई जानकारी गराएको सचिव शाहले बताए।

औषधि र आवश्यक जनशक्ति व्यवस्था गर्न प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

नेपाली काँग्रेस बाजुराले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा समेत फेलिएकाले तत्काल जिल्लामा आवश्यक स्वास्थ्यको औषधि र जनशक्ति व्यवस्था गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट खासै ध्यान नदिएको प्रति नेपाली काँग्रेस बाजुराको ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहमा देश तथा विदेशबाट आइरहेकाले स्थानीय सरकार मुकदर्शक बनेकाले तिनीहरुको पिसिआर परीक्षण र कोरोना पुष्टि भएकालाई क्वारेन्टिनमा राख्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले तत्काल व्यवस्था गर्न पहल गर्नुपर्ने ज्ञापनपत्रमा छ ।

जिल्लामा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री अभाव भएको र भेन्टिलेटर र पिसिआर मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति नभएकाले तत्काल व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको सभापति पण्डितले बताए ।

ज्ञापनपत्रमा महामरी गाउँगाउँमा फैलिएकाले उनीहरुको कोरोना परीक्षणका लागि तत्काल एन्टिजेन उपलब्ध गराई परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भेन्टिलेटर नहुँदा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता भएकाले पिसिआर मेसिन र भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस