अक्सिजन प्लान्ट स्थापना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अक्सिजन प्लान्ट स्थापना


४ जेष्ठ २०७८, मंगलबार


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेको र जिल्लामा अक्सिजन प्लान्टको आवश्यकता महसुस भएपछि तनहुँका प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र राष्ट्रियसभा सदस्य भगवती न्यौपानेको विशेष पहलमा जिपीमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो ।

अर्थ मन्त्रालयले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, भेन्टिलेटर र आइसियुका लागि रु नौ करोड बजेट विनियोजन गरेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) का अनुसार पाँच भेन्टिलेटर र १० वटा आइसियु श्ययाका लागि रु ६ करोड र अक्सिजन प्लान्ट निर्माण र उत्पादनका लागि रु तीन करोड गरी कूल रु नौ करोड अर्थ मन्त्रालयबाट विनियोजन भएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको मागबमोजिम रु ३० लाख बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपचार केन्द्रले अक्सिजनसहित आइसोलेशन कक्ष तयार गरेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि तनहुँका दशवटै स्थानीय तहको लागत सहभागितामा निर्माण सम्पन्न भएको भवन गत चैत ७ गते उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हाल आइसोलेशन भवनमा ३० श्यया तयार गरिएको छ । आइसोलेशनमा प्रत्येक श्ययामा अक्सिजनको व्यवस्था गरिएको छ । रु ७२ लाखमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको भवनमा शुक्लागण्डकी नगरपालिकाले १४, व्यास, भीमाद र भानु नगरपालिकाले १२/१२ प्रतिशत लागत सहभागिता बेहोरेका छन् । त्यस्तै, देवघाट गाउँपालिकाले पाँच, घिरिङ, म्याग्दे, ऋषिङ, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले ९/९ प्रतिशत लागत सहभागिता बेहोरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस