कोरोनाका कारण उपप्रमुख चौधरीको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनाका कारण उपप्रमुख चौधरीको मृत्यु


४ जेष्ठ २०७८, मंगलबार


राजविराज । सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आईसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस