बिरामी चापको आधारमा अक्सिजन वितरण गर्न प्रमुख सचिवहरूलाई मुख्यसचिवको निर्देशन « प्रशासन
prasaLogo
३ जेष्ठ २०७८, सोमबार

बिरामी चापको आधारमा अक्सिजन वितरण गर्न प्रमुख सचिवहरूलाई मुख्यसचिवको निर्देशन


प्रकाशित मिति : 17 May, 2021 5:25 pm

काठमाडौँ । मुख्यसचिव शंकरदाश वैरागीले उत्पादन भएको अक्सिजनलाई बिरामीको चापको आधारमा वितरण गर्न सातै प्रदेशका प्रमुख सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउन भन्दै सोमबार सात वटै प्रदेशका प्रमुख सचिवहरूसँग भर्चुअल बैठक गरेका मुख्यसचिव वैरागीले अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भए-नभएको नियमन गर्न र बिरामीहरूले प्राथमिकता अनुरूप उपचार पाए नपाएको सम्बन्धमा सुपरिवेक्षण गर्नसमेत निर्देशन दिएका छन् ।

सो क्रममा मुख्यसचिव वैरागीले उद्योगहरूको सुरक्षा, उद्योगहरूमा बिजुली, पानीको नियमित प्रबन्ध, स्थानीय तहसँग पूर्ण समन्वय, छिटो छरितो निर्णय लिने पक्रिया जस्ता सबै पक्षमा सक्रिय भई कार्य गर्न-गराउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माले बताए ।

मुख्य सचिवले समय-समयमा सुझावकोसमेत अपेक्षा राख्दै अक्सिजन उत्पादन गर्ने उद्योग जुनसुकै स्थानमा भएता पनि राष्ट्रिय आवश्यकताको आधारमा अक्सिजनको वितरण हुनुपर्ने र कतिपय अक्सिजन उद्योगहरूबाट साना तिना कारणले उत्पादन हुन नआएको अवस्था भएमा त्यस्ता सबै पक्षलाई हेरी प्रदेश स्तरबाट विश्लेषण लगायतका विषयमा प्रतिवेदन माग गरेको पनि प्रवक्ता शर्माको भनाई छ ।

अक्सिजनको उपलब्धतालाई सहज बनाउन प्लान्टहरूको पूर्ण क्षमतामा उत्पादन गर्ने तथा यसको वितरण प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन जोड दिनुपर्ने विषयमा भएको छलफलका क्रममा कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन र बजार अनुगमन तथा नियमनको विषयमा सचेत हुनुपर्ने कुरामा जोड दिइएको थियो ।

हाल मुलुकले व्यहोरिरहेको स्वास्थ्य चुनौती हल गर्न राष्ट्रिय आवश्यकतामा आधारित सोच, पूर्ण समन्वय, रोकथाम, नियन्त्रण र उपचारका सबै क्रियाकलापमा जोड दिन दिँदै मुख्यसचिव वैरागीले नेपाल सरकारबाट जारी भएको निषेधाज्ञा आदेशमा घोषणा भएका विषयमा प्रभावकारी अनुगमन, प्रदेश अन्तर्गतका संरचनाको पूर्ण सक्रियता, जनचेतनाका लागि सामाजिक परिचालन जस्ता क्रियाकलाप, अस्पतालहरूको नियमन गर्नसमेत प्रमुखसचिवहरुलाई निर्देशन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस