भारतले बनाएको कोरोना भाइरसविरुद्धको औषधि आज सार्वजनिक हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतले बनाएको कोरोना भाइरसविरुद्धको औषधि आज सार्वजनिक हुँदै


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । भारत सरकारले कोरोना भाइरसविरुद्धको औषधि बनाएको दावी गरेको छ । कोरोना संक्रमित विरामीका लागि तयार पारिएको औषधि आज सार्वजनिक गर्न लागिएकाे भारतका रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।

आइतबार भारतको रक्षामन्त्रालयले ट्वीटरमार्फत् जानकारी दिँदै सोमबार उक्त ओषधि सार्वजनिक गरिने बताएको हो ।

औषधिको नाम २–डीजी रहेको छ । कोरोना भाइरसविरुद्ध भारतमा तयार परिएको पहिलो ओषधि भएको भारत सरकारको दावी छ ।

यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।

यो औषधि पाउडरकोरूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।

‘डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज़ लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको हो’ राजनाथ सिंहले ट्वीट गर्दै भनेका छन् । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ।

भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्लीसहित देशका कैयौँ राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस