जनताको बहुदलीय जनवादको रक्षा, कार्यान्वयन र विकास गर्दै जानेछौँ : केपी शर्मा ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनताको बहुदलीय जनवादको रक्षा, कार्यान्वयन र विकास गर्दै जानेछौँ : केपी शर्मा ओली


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा सङ्कल्प गर्दै उनले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरी छाड्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘हामी जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने छौँ, अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरी छाड्ने छौँ, राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रूपमा क्रियाशील रहने छौँ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने छौँ ।’

वि.स. २०५० साल जेठ तीन गते दासढुंगा दुर्घटनामा परी निधन भएका भण्डारी र आश्रितको आज २८ औँ स्मृति दिवस मनाइँदै छ । २८ वर्ष अघि नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता भण्डारी र आश्रितको रहस्यमय दुर्घटनामा दुःखद निधन भएको थियो । मदन भण्डारी नवीन विचारका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक नेता मानिन्छन् ।

उनले नेपाली समाजको ऐतिहासिक विकास क्रम तथा विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरूको गहन अध्ययन एवं समीक्षामाथि आधारित भएर जनताको बहुदलीय जनवाद(जबज)को प्रतिपादन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस