कोरोना सङ्क्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च सम्बद्ध बिमा कम्पनीले बेहोर्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च सम्बद्ध बिमा कम्पनीले बेहोर्नुपर्ने


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च सम्बद्ध बिमा कम्पनीले व्यहोर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ ।

बिमा कम्पनीहरूलाई शुक्रवार परिपत्र गरेर सङ्क्रमित कर्मचारी तथा उनीहरूको सम्पर्कमा रहेका कर्मचारीलाई समेत पीसीआर परीक्षण शुल्कलगायत सबै खर्च बेहोर्न समितिले भनेको हो ।

‘सङ्क्रमित कर्मचारीलाई घर, अस्पताल वा होटेलमा आइसोलेसन वा क्वारेनटाइनमा सुरक्षित रूपमा राख्ने व्यवस्था पनि सम्बद्ध कम्पनीले मिलाउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘आइसोलेसन वा क्वारेनटाइनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारी कार्यालयमा फर्कँदा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै कार्यालय आउने व्यवस्था मिलाउनू ।’ आइसोलेसन वा क्वारेनटाइनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलबसहित अतिरिक्त बिदा उपलब्ध गराउन, हाजिरीमा अतिरिक्त बिदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । बिमा कम्पनीका कर्मचारी कोरोना सङ्क्रमणबाट आइसोलेसनमा बस्नुपर्‍यो भने अन्य बिदाबाट कटौती गर्न पाइनेछैन ।

सरकारले निषेधाज्ञा जारी गरेको समयमा बढीमा १० जना कर्मचारीबाट मात्र केन्द्रीय कार्यालय सञ्चालन गर्न, बिमा समितिबाट जारी भएको पास लिएर मात्र सवारी चलाउन, काठमाडौँ उपत्यकाको हकमा शाखा कार्यालयको काम पनि केन्द्रबाटै सञ्चालन गर्न र काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्न पनि समितिले भनेको छ ।

‘निषेधाज्ञाको कारण बितिमलाई भौतिक रूपमा उपस्थित भई जीवन बिमा शुल्क बुझाउन असहज हुने भएकाले विद्युतीय माध्यमबाट शुल्क सङ्कलनको व्यवस्था गर्ने,’ निर्देशनमा भनिएको छ, ‘विद्युतीय माध्यमबाट शुल्क सङ्कलन गर्न नसकिने अवस्था भए शुल्क सङ्कलन गर्ने काम निषेधाज्ञा अवधि सकिएको १५ दिनसम्म ब्याज नलिई सङ्कलन गर्ने व्यवस्था मिलाउने ।’ गत वर्ष पहिलो चरणको कोभिड सङ्क्रमण तीव्र भएको समयमा पनि समितिले भुक्तानी अवधि बढाउन र सो अवधिमा ब्याज नलिई बिमा शुल्क सङ्कलन गर्न निर्देशन दिएको थियो ।

निषेधाज्ञाको अवधिमा बिमा लेख सकिएको बिमा लेखको हकमा सम्बद्ध बिमितको लिखित अनुरोध (विद्युतीय माध्यमबाट आवेदन प्राप्त भएका आधारमा समेत) बिमा लेख नवीकरण हुने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस