कर्मचारीयन्त्रबाट प्रभावकारिता र पारस्परिक समझदारीका साथ कार्यसम्पादन हुनेमा प्रधानमन्त्री विश्वस्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारीयन्त्रबाट प्रभावकारिता र पारस्परिक समझदारीका साथ कार्यसम्पादन हुनेमा प्रधानमन्त्री विश्वस्त


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण कर्मचारी संयन्त्रबाट सदाका झैँ इमान्दारीता, प्रभावकारिता र पारस्परिक समझदारीका साथ कार्यसम्पादन हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त ओलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपछिको पहिलो सम्बोधनका क्रममा सो कुरा बताएका हुन् ।

‘यो सरकार देश जनताप्रति पूर्ण वफादारीता रहनेछ। भरखरै शपथ लिएर आएको छु, ती शपथका वाक्य अक्षरशः पालना गर्दै अगाडी बढ्नेछौँ । र, समर्पित भएर काम गर्नेछौँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसले निष्क्रिय पालना होइन, सक्रिय पालना र कार्यान्वयन गर्ने छ, यस कुरामा कर्मचारी यन्त्रबाट सदाझैँ इमानदारीताका साथ, सक्रियताका साथ, प्रभावकारीताका साथ काम हुनेछ, पारस्परिक समझदारीका साथ काम हुनेछ भन्ने मैले विश्वास गरेको छु ।’

राज्यको सम्पत्ति सही ठाउँमा सही तवरले सदुपयोग हुनुपर्ने साथै राज्य कोषको रकम मेहनत र पसिनाको थोपाबाट सञ्चित हुने हुनाले यसको प्रयोगलाई अत्यन्त मितव्ययी एवम् प्रभावकारी बनाउने विषयमा सबैको उच्च संवेदनशीलता एवम् सबै नेपालीहरूको साथ र सहयोगसमेतको अपेक्षा प्रधानमन्त्री ओलीको छ ।

प्रधानमन्त्रीले कोभिड-१९ को व्यवस्थापनको लागि राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गर्ने विषयमा कमी र नैराश्यता आउन नहुने, सङ्कटको समयमा समाधान सम्भव छ भन्ने भावनाले डटेर महामारीलाई पराजित गरी अगाडि बढ्न राज्यका सम्पूर्ण अङ्ग परिचालन गर्न/गराउन निर्देश गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरण राज शर्माले बताएका छन् ।

साथै महामारीको समयमा स्वास्थ्य सामग्री, औषधी र स्वास्थ्य सेवा उपलब्ध गराउने सन्दर्भमा भ्रष्टाचार र अनियमितता गर्ने माथि सरकार कडाइका साथ प्रस्तुत हुने बताउँदै यस्ता गतिविधि भएको पाइएमा तत्काल नियन्त्रणका लागि निर्देशन दिएको प्रवक्ता शर्माले बताए ।

प्रधानमन्त्रीले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने कार्यहरूमा सम्पूर्ण सामर्थ्य, स्रोत साधन लगाएर गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन् ।

सङ्क्रमणको दरमा कमी ल्याउन देशभरका ७३ जिल्लामा निषेध आदेश जारी गरिएको अवस्थामा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले यस अघि सरकारले अघि बढाएका प्रयासहरूलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न कोभिड-१९ बाट सङ्क्रमितहरूका लागि अक्सिजनको अभाव हुन नदिन तत्काल अक्सिजन प्लान्ट खरिद गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसका साथै सङ्क्रमित सबैको उपचार गर्न सक्ने गरी अस्पताल एवम् स्वास्थ्य संस्थाहरूमा जीवन रक्षक औषधीलगतालयका स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गरी भौतिक तथा संस्थागत पूर्वाधार विकास गरिनेसमेत प्रधानमन्त्री ओलीले बताए । कोभिड-१९ को उपचार र व्यवस्थापनमा कमी हुन नदिनको लागि आवश्यक चिकित्सकलगायतका स्वास्थ्यकर्मी थप गरी अग्रपङ्तिमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायत कर्मचारीहरूलाई प्रोत्साहन सुविधा उपलब्ध गराइनुका साथै शीघ्र कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था गरिने बताए । कोभिड–१९ महामारीबाट उद्योग, व्यवसाय, उत्पादन र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न विशेष व्यवस्था गरिने लगायतका विषयमा गम्भीरतापूर्वक प्राथमिकता निर्धारण गरी कार्यसम्पादन गर्न प्रधानमन्त्री ओलीको निर्देशन छ।

पदवहाली पश्‍चातको विशेष सम्बोधन कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री प्रधानमन्त्रीका मुख्य सल्लाहकार, परराष्ट्र सल्लाहकार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राज्यमन्त्री, मुख्य सचिव र सचिवहरू एवम् विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस