अक्सिजनको अभाव र व्यवस्थापनका  केही उपायहरू « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अक्सिजनको अभाव र व्यवस्थापनका  केही उपायहरू


३० बैशाख २०७८, बिहिबार


विश्व महामारी कोभिड-१९ को दोस्रो लहरले विशेषतः दक्षिण एसियाका भारत र नेपाल हाल अत्यन्तै प्रभावित भएका छन्। कोभिड सङ्क्रमितहरूलाई फोक्सोको सङ्क्रमण तत्काल हुने र यसले श्वासप्रश्वासमा कठिनाइ हुने हुँदा  अधिकांश बिरामीलाई प्रारम्भिक चरणमा नै अक्सिजनको आवश्यकता पर्ने देखिएको छ। सामान्य समयमा आपूर्ति भइरहेको अक्सिजनले हालको माग धान्न नसक्ने मात्र होइन यसको चरम अभाव देखिएको छ र अक्सिजनको अभावमा नै धेरै बिरामीहरूको अकालमा ज्यान समेत गएको छ ।

नेपालमा पछिल्लो समय अक्सिजनको अभावको कारण देखाई अस्पतालहरूले बिरामीहरू भर्ना गर्न नसक्ने सूचना समेत जारी गरिरहेका छन्। सरकारले उपलब्ध स्रोत साधनलाई सङ्कटको समयमा समानुपातिक वितरणको व्यवस्थापन गरेको भएता पनि यसबाट समेत समस्या समाधान हुन सकेको छैन।अक्सिजन उद्योगहरूमा सुरक्षा प्रबन्ध गरी २४ सैं घण्टा उद्योगहरू सञ्चालनको प्रयत्न समेत सरकारले गरिरहेको छ। सङ्कटको यस घडीमा अक्सिजनको आपूर्ति मात्र पनि गर्न सक्ने हब भने धेरैको जीवन रक्षा गर्न सकिने अवस्था छ । मुलुकको राजधानीको अवस्था भन्दा अझ बाहिरको अवस्था भयावह देखिएको छ। यस्तो अवस्थामा अक्सिजन लगायत अन्य आपत्कालीन औषधीहरूको अनावश्यक होल्डिङ्ग भइरहेको समेत पाइएको छ।

मुलुकमा हाल देखा परेको सङ्कट समाधानमा सबैको ध्यान केन्द्रित हुनु जरुरी छ। सरकार आफैले मात्र गरेका प्रयत्न पर्याप्त र प्रभावकारी नहुन पनि सक्दछन्। विदेशमा रहेका नेपालीहरूबाट समेत अक्सिजन सिलिन्डरलगायतका सामग्री सङ्कलन गरी नेपाल पठाउने अभियान सुरु हुनु सकारात्मक विषय हो।  यसै सन्दर्भमा हालको मुख्य समस्या अस्पतालको शय्या मात्र नभएर अक्सिजनको उत्पादन, त्यसको भण्डारण ढुवानी र वितरणमा देखिएको छ। सिलिण्डरहरु अस्पताल र उद्योगमा समयमा पुर्‍याउने कार्यमा निकै सावधानी र होसियारी पुर्‍याउनु पर्ने अवस्था छ।

सङ्क्रमणको लहर अझ तीव्र हुने अवस्थामा हालको क्षमता जसरी भए पनि वृद्धि गर्नुपर्ने हुन्छ अन्यथा ठुलो जनधनको क्षति अवश्यम्भावी देखिएको छ।

जनजीवन सामान्य भएको अवस्थामा अक्सिजनको उपयोग अस्पताल र केही औद्योगिक प्रयोजनमा मात्र हुने भएता पनि आजको महामारीको अवस्थामा अक्सिजनको पूर्ण उपयोग कोभिड-१९ बाट सङ्क्रमित बिरामीहरूको लागि  पनि अपुग भइरहेको छ  र महामारी बढ्दै जाँदा हालको उत्पादन अझ न्यून हुने देखिन्छ । अक्सिजनको माग र आपूर्ति बिचको फरक धान्न तत्काल उद्योगहरू पूर्ण उत्पादन क्षमता अनुसार सञ्चालन गर्ने, वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउने, उद्योगको थप उत्पादन क्षमता बढाउन आवश्यक कार्य गर्ने लगायत वैकल्पिक रूपमा तरल अक्सिजन उत्पादन प्रविधि जडान एवं अक्सिजन कन्सन्ट्रेटरको उपलब्धता वृद्धि हुन सक्दछन् ।

मानवीय जीवन रक्षासँग सम्बन्धित अक्सिजन उत्पादनको सम्बन्धमा अध्ययन अनुसन्धान समेत नभएको र हाम्रो जस्तो उच्च प्रविधि एवं औद्योगिक क्षमता न्यून भएको मुलुकको लागि यो अवस्था झन् जटिल बन्न सक्ने देखिन्छ ।

प्रस्तुत लेख हालको सङ्कट व्यवस्थापन समाधानमा सम्बद्ध संस्था तथा प्रबुद्ध नागरिकहरूलाई छलफलका लागि सूचना हुनसक्ने र व्यवस्थापनमा संलग्न हरुकालागि सुझावको रूपमा तयार गरिएको हुँदा यसमा पर्याप्त सुझावहरू अपेक्षा गरिएको छ।

अक्सिजन उत्पादनको वर्तमान क्षमता:

नेपालमा हाल काठमाडौँ उपत्यका बाहिर १९ वटा र काठमाडौँ उपत्यका भित्र जम्मा १० वटा गरी देशभित्र जम्मा २९ वटा अक्सिजन उद्योगहरू सञ्चालनमा रहेका छन् ।काठमाडौँ उपत्यका बाहिरका अक्सिजन उत्पादक उद्योगहरूको जम्मा उत्पादन क्षमता २८७५ क्युबिक मिटर प्रतिघण्टा छ भने ती उद्योगहरूमा जम्मा ठुला सिलिन्डर २३००० र साना सिलिन्डरहरू ९०५४ वटा रहेका छन्। त्यसैगरी काठमाडौँ उपत्यका भित्र रहेका अक्सिजन उत्पादक उद्योगहरूको जम्मा उत्पादन क्षमता २४६० क्युबिक मिटर प्रतिघण्टा छ भने ती उद्योगहरूमा जम्मा ठुलो सिलिन्डर ४७००० र साना सिलिन्डरहरू २९९१० वटा रहेका छन् । त्यसैगरी केही अस्पतालहरूमा (जम्मा ९३ टन क्षमताको) लिक्विड अक्सिजन प्लान्टहरू समेत जडान गरिएको छ ।

 

-माथिको तालिका अनुसार काठमाडौँ उपत्यका भित्र रहेका उद्योगहरूको प्रतिघण्टा उत्पादन क्षमता २४६० क्यु. मि. रहेको छ, यो क्षमता अनुसार दैनिक न्यूनतम २० घण्टाका दरले सबै उद्योगहरू सञ्चालनमा ल्याउन सकेमा २४६०*२०=४९२०० क्यु.मि. अर्थात्  १०,४६८ ठुला सिलिन्डरहरू भर्न सकिन्छ र यो हाल उपलब्ध भइरहेको दैनिक सरदर ७००० सिलिन्डर आपूर्तिको थप ५०% बढी  हो ।

-हाल दैनिक ३२९०० क्यु.मि. मात्र उत्पादन भइरहेको तथ्याङ्कले देखाउँछ यसको अर्थ अक्सिजन उद्योगहरू  दैनिक सरदर १३ घण्टा मात्र सञ्चालनमा रहेका छन् ।

-१०,४६८ ठुला सिलिन्डरहरू नियमित २४ घण्टामा आलोपालो खाली भई पुनः भर्न त्यसको सरदर थप दुई गुणा अर्थात् लगभग ३० हजार सिलिन्डर आवश्यक पर्दछ। अस्पतालमा पुगेर खाली हुने एउटै समय हुँदैन। हामी सँग ठुला ४७००० र साना सिलिन्डर २९००० भएको हुँदा अस्पतालबाट सङ्कलन गरी उद्योगमा रिफिलिङ गर्न पठाउने कार्यमा तदारुकता हुनसकेमा यसबाट तत्काल देखिएको समस्या निकै हदसम्म समाधान हुने देखिन्छ ।

-चिकित्सकहरू र अस्पतालहरूको भनाई अनुसार हालको माग १५००० क्यु.मि.प्रति दिन रहेको छ । २० घण्टा दैनिक रूपमा उद्योग सञ्चालन गरी उत्पादन बढाएमा १०५०० ठुलो सिलिन्डर रिफिल गर्न सकिन्छ, अस्पतालमा जडित तरल अक्सिजन प्लान्टहरूबाट र अक्सिजन कन्सन्ट्रेटरहरुबाट समेत भइरहेको आपूर्तिबाट लगभग २००० सिलिन्डर बरावरको माग धानेको छ। यसबाट हाम्रो माग र आपूर्ति बिचको भिन्नता ३०००- ३५०० सिलिन्डर नपुग रहेको देखिन्छ । सीमित समयमा यसको पूर्तिको लागि अक्सिजन कन्सन्ट्रेटरहरु र लिक्विड अक्सिजन प्लान्ट जडान नै उपयुक्त विकल्प हुने देखिन्छ।

    ख. हाल देखिएको अक्सिजन अभाव व्यवस्थापनका केही उपायहरू

-उपत्यका र उपत्यका बाहिर रहेका कूल २९ वटा अक्सिजन उद्योगहरूलाई २४ सैं घण्टा सञ्चालनमा ल्याउन नेपाली सेनाको विज्ञताको प्रयोग गरी प्रत्येक उद्योगमा अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालन, उत्पादन, वितरण, आपूर्ति तथा सुरक्षा प्रयोजनकालागि न्यूनतम ५ देखि १० जना सेनाको टोली  खटाई सक्रिय सहयोग लिने,हाल खटाएको भएता पनि सुरक्षा प्रयोजनकालागि मात्र भएकोले अस्पतालहरूमा वितरण प्रणालीमा दोहरो सञ्चार र समन्वय प्रभावकारी नभएको,

-वितरण प्रणालीमा देखिएको समस्या समाधानकालागि प्रत्येक अस्पतालमा ५ जनाको नेपाली सेनाको टोली राखी कुन समयमा अक्सिजन सिलिन्डर खाली हुन्छ खाली हुनु अगावै उद्योगको टोलीसँग समन्वय गरी  फिलिङ्ग तथा ढुवानी कार्य उक्त टोलीले गर्ने, गराउने र आवश्यकता अनुसार घुम्ती  ढुवानी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका समूहहरू परिचालन गराउने,

-उद्योगलाई २४ सैं घण्टा सञ्चालनमा ल्याउन उद्योगमा कार्यरत रहेका जनशक्तिलाई नेपाल सरकारले न्यूनतम १ महिनाको र थप सङ्कटको अवधि भर १०० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने साथै ८ घण्टा भन्दा बढी काम गरेको अतिरिक्त समयको भत्ता समेत नेपाल सरकारले नै व्यहोर्ने,

-उद्योगमा कार्यरत जनशक्तिबाट मात्र २४ सैं घण्टा उद्योग सञ्चालन गर्न कठिनाइ हुने भएकोले उद्योगमा रहेका प्राविधिकहरूलाई ३ सिफ्टमा पुग्ने गरी वितरण गरी अरू सहयोगी जनशक्ति नेपाली सेना, नेपाल प्रहरी  र सशस्त्र प्रहरीबाट खटाउने,

-आन्तरिक क्षमताबाट मात्र अस्पतालहरूको माग धान्न नसकिने भएकोले अक्सिजनको आपूर्ति बढाउन देहाय अनुसारका काम तत्काल गर्नेः-

-उपत्यका भित्र रहेका ११२ वटा अक्सिजन प्राप्त गरिरहेका र उपत्यका बाहिर रहेका १०० गरी कूल २०० अस्पतालका लागि तत्काल  कूटनैतिक संयन्त्रको उपयुक्त परिचालन गरी  १०,००० थान पोर्टेवल साना/ ठुला अक्सिजन कनसन्ट्रेटरहरु, लिक्विड अक्सिजन प्लान्ट जडानको लागि आवश्यक स्वास्थ्य सामग्रीहरू चीन अथवा जर्मनीबाट एयर कार्गो गरी उपलब्ध गराउने यसो गर्दा हालको उत्पादनको आधा बचत हुन सक्दछ र  महामारीको थप चपेटाबाट जोगिन मद्दत गर्दछ ।

-तरल अक्सिजन प्लान्ट जडान गर्न सक्ने अस्पतालहरूमा अविलम्ब सो कार्य अगाडी बढाउन समेत एउटा कार्य समूह बनाई कार्य अगाडी बढाउने ।

-पुराना तर चालू हालतकाअक्सिजन सिलिन्डरहरू चिनिया बजारमा प्रशस्त किन्न पाइने रहेछ सो को लागि हाम्रा वाणिज्य प्रतिनिधिहरू मार्फत बुझी न्यूनतम १० हजार थान सिलिन्डर खरिद गरी एयर लिफ्ट गर्ने व्यवस्था मिलाउने ।

-बुटवल, वीरगन्ज तथा अन्य स्थानमा रहेका एलपीजी ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योगहरूले अक्सिजन सिलिन्डर उत्पादन गर्न सकिने सम्भावना रहेको छ। तिनीहरूलाई पनि परिचालन गर्ने र सरकारले सहयोग गर्ने हो भने एक महिनामा नै ५/७ हजार सिलिन्डर उत्पादन गर्न सकिने

-अक्सिजनको समस्या उत्पादन क्षमता, ढुवानी, वितरण, रिफिलिङ्ग, सिलिन्डर र सो सँग सम्बन्धित व्यवस्थापनको भएको हुँदा यस कार्यमा डेटिकेटेड टीमको कुशल परिचालनबाट समस्या निकै हदसम्म समाधान गर्न सकिने देखिन्छ ।

-उपरोक्त कार्यको समन्वय जिल्ला तथा क्षेत्रीय वा केन्द्रीय सुरक्षा समितिले गर्ने र समग्र व्यवस्थापनको नेतृत्व सीसीएमसीबाट यथावत् हुने ।

-अस्पताल तथा चिकित्सकहरूलाई हाल अक्सिजन, शय्या तथा अति आवश्यक औषधीको अभावको कारण भइरहेको दबाबलाई कम गर्न सुरक्षाकर्मी उच्च तहका व्यवस्थापकहरू र जनशक्तिको व्यवस्थापन सहयोग समूह बनाई अस्पतालहरूमा परिचालन गर्ने र उक्त समूहले अस्पताल र नागरिक अस्पताल र सरकारको बिचमा समन्वय गर्ने साथै शय्या, अक्सिजन र औषधी व्यवस्थापनमा मद्दत गर्न सक्ने व्यवस्था मिलाउन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस