प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने प्लान्ट तत्काल जडान गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने प्लान्ट तत्काल जडान गरिने


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । सरकारले प्रमुख अस्पतालहरूमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने भएको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड-१९ को प्रभावकारी व्यवस्थापन बैठकले विदेशबाट अक्सिजन ट्याङ्कर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्नेदेखि लिएर प्रमुख अस्पतालहरूमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माका अनुसार बैठकले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिना व्यवधान २४सै घण्टा विद्युत् र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी÷प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने निर्णयसमेत गरेको बताए ।

यसका साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आई.सी.यु., एच. डी. यु., भेन्टिलेटर र बिरामीको सङ्ख्याको तथ्याङ्क प्रकाशन गर्ने, उद्योगहरूलाई उपलब्ध गराउने अक्सिजनको कोटा तोक्ने र यसको अनुगमनका साथै अक्सिजनको आवश्यक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने निर्णय भएको छ । सम्बद्ध उद्योग २४ सै घण्टा सुचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरूबाट काठमाडौँ उपत्यका बाहिरका अक्सिजन उद्योगहरूबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रबन्ध गर्ने, औषधी उपकरण लगायतका मानवीय सहायता हवाई मार्गबाट ल्याउने व्यवस्था मिलाउने निर्णयहरू पनि गरेको प्रवक्ता शर्माको भनाई छ ।

यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरूप प्रदान गर्ने एक सय ५० लिक्विड अक्सिजन कन्टेनर नेपाल ल्याउने स्वीकृतिको विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथाशक्य चाँडो उक्त स्वास्थ्य सामग्री तातोपानी नाकामा हस्तान्तरण गर्ने जानकारी प्राप्त उनले बताएका छन् ।

चीन सरकारले उपलब्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत तीन हजार पाँच सय अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर मध्ये चार सय अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर मध्ये दोस्रो लटको एक हजार ६ सय अक्सिजन सिलिन्डर नेपाल ल्याउनको लागि नेपाल एयरलाइन्सको चार्टर उडान बारेमा सम्बन्धित निकायहरूसँग समन्वय गरिएको पनि प्रवक्ता शर्माले प्रशासनलाई बताए ।

यसका साथै चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलब्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनरेटर युनिट्स उपलब्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास बेइजिङ मार्फत अनुरोध गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सामग्री लिस्टमा समावेश सामग्रीहरू नयाँ दिल्लीबाट आपूर्ति गर्न सक्ने जानकारी प्राप्त भएको छ भने अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरिद गरिएको एक सय अक्सिजन कन्सन्ट्रेटर निकट भविष्यमा नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पनि प्रवक्ता शर्माको भनाई छ ।

यसैगरी ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६ सय खाली अक्सिजन सिलिन्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने भनी लेखी आए बमोजिम तोकिएको मितिमा विमान चार्टर गरी ल्याउनका लागि समन्वय गरिएको जानकारी प्राप्त भएको पनि उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत २४ घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला, सुर्खेत र नेपालगन्ज विमानस्थलबाट विभिन्न वायुसेवाले एक सय २९ आन्तरिक उडान भरी जम्मा चार सय सात यात्रुको उद्धार गरिएको छ । कूल उडानमध्ये मेडिकल उद्धारको उडान सङ्ख्या ५५ रहेको छ । हिमालय एयरले ढाका–काठमाडौँ कार्गो उडान भरी जम्मा ६.३४ टन कोभिड सम्बन्धी स्वास्थ्य सामग्री लिई आएको छ ।

यसैगरी एयर बबल सुविधा अन्तर्गत नेपाल एयरलाइन्स काठमाडौँ–दिल्ली–काठमाडौँ उडान भई जम्मा ८६ यात्रु सहित आज दिनको ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ भने उक्त उडानका सबै यात्रुलाई नेपाल पर्यटन बोर्डको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचीकृत होटेलको क्वारेनटिन राख्ने व्यवस्था मिलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस