कोरोना सङ्क्रमण रोक्न आदेश पालना गर्न मन्त्री त्रिपाठीको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमण रोक्न आदेश पालना गर्न मन्त्री त्रिपाठीको आग्रह


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् ।

आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । मन्त्री त्रिपाठीले कोरोना भाइरसले हुने ठूलो चुनौती रोक्न आदेश जारी गरिएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताए ।

उनले आदेश पालना गरे मात्र कोभिड–१९ भाइरसलाई पराजित गर्न सकिने भन्दै आदेश पालनामा कतै कमजोरी देखिए त्यसले मुलुक ठूलो दुष्चक्रमा फस्नेसमेत चेतावनी दिए ।

‘सबैलाई म आग्रह गर्नु चाहन्छु कि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुहोस्’, उनले भने, ‘आदेश पालना नगरे कठोर कदम उठाउन सरकार बाध्य हुनेछ ।’ मन्त्री त्रिपाठीले कोभिड-१९ को सङ्क्रमणलाई हल्कारुपमा नलिन र हल्का ढङ्गले लिए सङ्क्रमण अझ बढ्न गई स्थिति गम्भीर बन्नेसमेत बताए ।

उनले जनताको जीवन जोगाउनका लागि नै सरकारले आदेश जारी गरेको बताए । उनले सरकारको बन्दाबन्दी गर्ने कुनै चाहना नभएको पनि उल्लेख गरे । ‘बन्दाबन्दीले हाम्रो जीवनलाई कस्तो असर गर्‍यो भन्ने कुरा हामीले विगतको अभ्यासबाट थाहा पाएका छौँ । हामी भरसक बन्दाबन्दी गर्ने पक्षमा छैनौँ’, उनले भने ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पाँच हप्तादेखि सङ्क्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे । उनले सङ्क्रमणको नयाँ स्वरुप देखिएकाले सचेत रहनु पर्नेमा जोड दिए । आज मुलुकभर एक हजार ७३६ सङ्क्रमित फेला परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस