उपप्रधानमन्त्रीलाई पूर्व सचिवको प्रतिप्रश्न : वर्षको ४ पटक सरुवा भएपछि परिणाम आउँछ त मन्त्रीज्यू ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपप्रधानमन्त्रीलाई पूर्व सचिवको प्रतिप्रश्न : वर्षको ४ पटक सरुवा भएपछि परिणाम आउँछ त मन्त्रीज्यू ?


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । कर्मचारीले परिणाममुखी काम गर्न सकेनन् भन्ने नेपाल सरकारका उपप्रधानमन्त्रीको भनाइबारे प्रतिप्रश्न गर्दै नेपाल सरकारकै एक जना पूर्वसचिवले उनलाई नै कडा प्रतिप्रश्न गरेका छन् ।

नेपाल सरकारका सचिवहरूसँग भएको उच्चस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कर्मचारीले परिणाममुखी काम गर्न सकेनन् भन्ने प्रश्न उठाई रहँदा पूर्व सचिव शारदाप्रसाद त्रितालले प्रतिप्रश्न गरेका छन् ‘एउटा कर्मचारी वर्षको ४ पटक सरुवा भएपछि परिणाम कसरी आउँछ त मन्त्रीज्यू ?’

मन्त्री पोखरेलले कर्मचारीमाथि उठाएका सवालहरूमध्ये मुख्य पाँच वटा सवालमा केन्द्रित हुँदै पूर्व सचिव त्रितालले कर्मचारीले सोध्न पर्ने भन्दै विभिन्न ९ वटा प्रतिप्रश्न गरेका छन् ।

उपप्रधानमन्त्रीले गरेको पहिलो प्रश्नको जवाफमा पूर्व सचिव त्रिताले भनेका छन् : एउटा कर्मचारी वर्षको ४ पटकसम्म सरुवा भएपछि त्यस्तो कर्मचारीले कसरी परिणाम दिन सक्छ भनेर सरकारले समीक्षा गर्ने गराउने गरेको छ ?

उपप्रधानमन्त्रीको प्रश्न थियो : अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिँगे टसाइ सोचबाट मुक्त हुन सकेको छैन ।

सम्बन्धित समाचार : निजामती प्रशासनको प्रमुख समस्या ‘झिँगे टसाई’ सोचबाट मुक्त हुन नसक्नु : उपप्रधानमन्त्री पोखरेल

‘यसलाई विरासतमा पाएको भन्ने गरिए पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नुपर्दछ भन्ने म यहाँहरूसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’ यो पोखरेलले कर्मचारीतर्फ सोझ्याएको दोस्रो सवाल थियो । र, यसको जवाफमा त्रितालले दिएका छन् : कुनै कर्मचारीले तोकेको काम गरेन भनेर निजउपर कारबाही गर्ने गर्नु भएको छ ?

‘कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न सकेको छैन ।’ पोखरेलको यो तेस्रो सवालको त्रितालले प्रतिसवाल गरेका छन् : कर्मचारी सक्षम पनि छन् भन्ने जान्दा जान्दै धेरै र महत्त्वपूर्ण काम भएका निकाय वा कार्यालयमा आफ्ना ‘चम्चे’ हरु बाहेक योग्यता र अनुभवको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने गर्नु भएको छ ?

कर्मचारीतन्त्र भित्र सबैभन्दा पेचिलो सवाल हो यो । जुनसुकै पार्टीको सरकार बनोस् सीमित ‘धुपौरे’ र ‘चम्चे’हरुले स्थान पाउने गरेका छन् । कर्मचारीले गर्ने काम भन्दा राजनीति बढी गर्ने ‘कर्मचारी नेता’ मात्रै होइन, निजामती भित्र घुनजस्तै फैलिएका ‘घुसघुसे’हरु नै सवैतिर हाबी हुँदा वास्तवमै काम गर्ने कर्मचारी पन्छाइएको देखिन्छ ।

पोखरेलले उठाएको अर्को सवाल थियो : ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायत प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको छ ।’

र यसको जवाफ पनि प्रशासन त्रितालले पुग्ने गरी दिएका छन् : छानी छानी भ्रष्ट र अनैतिक चरित्र भएका ‘आफ्ना’ भनाउँदालाई महत्त्वपूर्ण काम सुम्पिएपछि निजले झिँगे टँसाइबाहेक अरू के गर्न सक्छ ? यसबारेमा अहिलेसम्म अध्ययन र समीक्षा गर्नु भएको छ ?

उपप्रधानमन्त्री पोखरेलले उठाएको सवालको जवाफ यही नै हो । पछिल्ला केही वर्षयता भएका नियुक्ति, सरुवा, बढुवालगायत निर्णयहरू हेर्ने हो भने घाम जतिकै छर्लङ्गै हुन्छ । यसरी नियुक्त भएर गएकाहरू नियुक्ति गर्नेप्रति मात्रै बफादार हुने भएपछि कर्मचारीतन्त्रले कसरी काम गर्न सक्छ ?

र उपप्रधानमन्त्री पोखरेलले उठाएको अर्को सवाल ‘शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको छ ।’ को जवाफमा पूर्व सचिव त्रिताल भन्छन् : ‘शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएको जान्दा जान्दै प्रशासनयन्त्रमा सुधार गर्न विगत ३ वर्षमा कुनै सुधारको कार्य गर्नु गराउनु भएको छ ?’

पोखरेललाई त्रितालको यो जवाफको पछिल्लो उदाहरण सङ्घीय निजामती सेवा ऐन नै काफी छ । संविधान बनेको पाँच वर्षसम्म पनि समग्र सार्वजनिक क्षेत्रलाई प्रभाव पार्ने तथा सङ्घीयताको मुख्य पिल्लर प्रशासनिक सङ्घीयता कार्यान्वयनमा अहम् भूमिका रहने ऐन कहिले आउने अहिलेसम्म कुनै अत्तोपत्तो छैन । सवाल गरेर मात्रै सुधार आउँदैन, आइ परेका बाधा अड्चन फुकाएर मात्र कुनै पनि समस्याको समाधान हुन्छ भन्ने कुरा नेपालका राजनीतिज्ञहरूले बिर्सेको देखिन्छ ।

पूर्व सचिव त्रितालका थप प्रश्न छन् :

समग्र सरकारी प्रशासनको मेरुदण्ड मानिने निजामती सेवा सञ्चालन गर्ने सङ्घीय निजामती सेवा ऐन पारित ग र्न किन यतिका वर्ष लागिरहेछ ?

सङ्घीय शासन व्यवस्थामा निजामती सेवा कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा कुनै अध्ययन अनुसन्धान गराउनु भएको छ ?

प्रधानमन्त्रीको कार्यालयको मन्त्री भएपछि विभिन्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महत्त्वपूर्ण आयोजनाका प्रमुखहरूसँग छुट्टाछुट्टै र समूहगत रूपमा निरन्तर छलफल र विचार विमर्श गरी समस्याको समाधान गर्ने गर्नु भएको छ रु यदि छ भने त्यसको विवरण प्रधानमन्त्रीको कार्यालयको वेबसाइटमा राख्नु भएको छ ?

कर्मचारी भनेका राष्ट्रसेवक हुन् मन्त्रीका निजी सहायक होइनन् भन्ने हेक्का राखेर व्यवहार गर्ने गर्नु भएको छ ?

स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रका प्रमुख यी सवालहरूको जवाफ उपप्रधानमन्त्री पोखरेलले दिन सक्लान् या नसक्लान् तर जिम्मेवारीबाट भने उनी पर भाग्न अवश्य सक्नेछैनन् ।

अन्तिममा पूर्व सचिव पोखरेलले सुझाव पनि दिएका छन् : ‘जबसम्म प्रशासनयन्त्र भनेको शासन व्यवस्थाको मेरुदण्ड हो भन्ने सोचका साथ अध्ययन र अनुसन्धानमा आधारित सुधार गर्ने प्रयास हुँदैन, परिणाम यस्तै नै हुने हो । यसतर्फ ध्यान जाओस् ।’

हो, कर्मचारीका आफ्नै कमजोरीहरू छन् तर त्यसको सुधारको मियो राजनीतिकसँग मात्रै छ । कानुन निर्माण गर्दा होस् या त्यसपछिको कार्यान्वयनका क्रममा होस् कर्मचारीतन्त्रलाई बुझ्न नसकेकै कारण अहिलेको परिणाम आएको भन्दा अत्युक्ति हुँदैन । पानी माथिको ओभानो बनेर उम्किन छुट राजनीतिक नेतृत्वलाई कदापि छैन । जुनसुकै पार्टी होस् सत्तामा आउँदा ‘आफ्ना’, ‘आफन्त’, ‘चाकरे’, ‘चापलुसे’, ‘भक्त’ तथा ‘भरौटे’हरु मात्रै छानेर त कसरी गुणस्तरीय सेवा भेटाउन सकिएला त ?

यसो भन्दैमा कर्मचारी पनि असल, शुद्ध र खोटयुक्त छन् भन्न खोजिएको होइन । कर्मचारी प्रवृत्ति यति धेरै गए गुज्रेको छ कि एक आम नागरिक भएर कुनै पनि सेवा लिने कार्यालयमा गएर हेर्नुस् त ? उसको नजिक पुगेदेखि गरेको सवालको जवाफ तथा कामकारबाहीसम्म पुग्दा ‘कुन जुनीको पाप कटाउन आइएछ’ भन्ने खालको छ । कर तिर्न जाँदा आजित हुनुपर्ने अवस्था छ भने अन्य सेवाको के कुरा गर्नु र १ पद र प्रतिष्ठामुखी बनेको सेवा प्रवाह सुधार राजनीतिक नेतृत्वबाट मात्रै सम्भव छ ।

यसर्थ कर्मचारीमाथि दोष थुपार्नु र भडास पोख्नुभन्दा आफ्नै हातमा रहेको कानुन सही बनाउने र त्यसको इमानदारीपूर्वक कार्यान्वयन गरे यति भन्न र सुन्न पर्दैनथ्यो कि ?

Tags :
प्रतिक्रिया दिनुहोस