मञ्चमै झगडा भएपछि श्रीलङ्कामा सौन्दर्य प्रतियोगिताकी विजेता घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मञ्चमै झगडा भएपछि श्रीलङ्कामा सौन्दर्य प्रतियोगिताकी विजेता घाइते


एजेन्सी

२५ चैत्र २०७७, बुधबार


एजेन्सी । श्रीलङ्काको एक सौन्दर्य प्रतियोगिताको मञ्चमै झगडा भएपछि प्रतियोगिताकी विजेता घाइते भएकी छन् । आइबार प्रतियोगिताकी सहभागी पुष्पिका डिसिल्भाले ‘मिसेस श्रीलङ्का’ को उपाधि जितेपछि पूर्व विजेताले उनको ताज खोस्दा डिसिल्भाको टाउकोमा चोट लागेर घाइते भएकी हुन् ।

सन् २०१९ की विजेताले डिसिल्भालाई सम्बन्धविच्छेद भएको दाबी गर्दै उपाधि दिन नहुने भन्दै ताज खोसेकी थिइन् । तर आयोजकहरुले उनको सम्बन्धविच्चेद नभएको भन्दै उपाधि डिसिल्भालार्य फिर्ता दिएका छन् ।

आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए। तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन्।

‘पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु,’ उनले दर्शकहरूलाई भनिन्।

त्यसपछि उनले रनरअपको शिरमा मुकुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरिएको उक्त कार्यक्रमको भिडिओमा देखिएको छ।

आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन्। फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन्।

आफूमाथि भएको ‘अनुचित र अपमानजनक’ व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छन्। ‘श्रीलङ्कामा मजस्तै कैयौँ एकल आमाहरू छन् जो पीडित छन्,’ उनले एउटा पत्रकार सम्मेलनमा भनिन्।

‘यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हुर्काउन दुःख गरिरहेका छन्।’

Tags :
प्रतिक्रिया दिनुहोस