कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २३९ स्वास्थ्य कर्मचारीको दरबन्दी रिक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २३९ स्वास्थ्य कर्मचारीको दरबन्दी रिक्त


२४ चैत्र २०७७, मंगलबार


सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश अस्पतालमा हाल दुई सय ३९ स्वास्थ्य कर्मचारीको दरबन्दी रिक्त रहेका छन् । तीन सय २५ स्वीकृत दरबन्दीमध्ये ८६ दरबन्दीमा मात्रै पदपूर्ति भएको र बाँकी दरबन्दी रिक्त रहेको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार हाल एघारौँ तहमा तीन जना, नवौँ र दशौँ तहमा चार जना, सातौँ र आठौँ तहमा नौ जना, पाँचौँ, छैटौँ र सातौँ तहमा ५७ जना र श्रेणिविहीन तहमा १३ जनासहित ८६ जना स्वास्थ्य कर्मचारी कार्यरत छन् । बाँकी सबै पद रिक्त रहेका छन् ।

रिक्त दरबन्दी मध्ये सबै भन्दा बढी स्टाफ नर्सको रहेको छ । १ सय १२ दरबन्दी मध्ये ८७ स्टाफ नर्सको पद रिक्त रहेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्या न्यून हुँदा आवश्यकताअनुसारको स्वास्थ्य सेवा दिन नसकिइरहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काको गुनासो रहेको छ ।

उनले भने, ‘बिरामीलाई भने जस्तो सेवा दिन सकिएको छैन । सङ्घको ध्यान प्रदेश अस्पतालमा छैन । स्वास्थ्यका कर्मचारीको समायोजनले झनै कर्मचारी पदपूर्ति सङ्ख्या न्यून बनाएको छ । पदपूर्ति सङ्ख्या वृद्धि गर्न सामाजिक विकास मन्त्रालयले अहम् भूमिका खेल्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस