निजामती सेवाका विविध विषयमा सचिवबिच अन्तरक्रिया : मुख्यसचिव र प्रधानमन्त्री पनि सहभागी हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजामती सेवाका विविध विषयमा सचिवबिच अन्तरक्रिया : मुख्यसचिव र प्रधानमन्त्री पनि सहभागी हुने


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ । निजामती सेवासँग सम्बन्धित विविध विषयमा नेपाल सरकारका सचिवबिच अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने कार्यक्रम तय भएको छ । बिहान ९ः३० देखि सञ्चालन हुने उक्त कार्यक्रमको अध्यक्षता मुख्यसचिव शंकरदास वैरागीले गर्नेछन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार कार्यक्रममा तीन वटा विषयमा गहन छलफलका साथै कार्यपत्र नै प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । जसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायण प्रसाद अर्यालले निजामती कर्मचारीको समायोजन, विद्यमान अवस्था, समस्या र समाधानका उपायहरूबारे कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा। राजन खनालले निजामती सेवामा जनशक्ति योजना र क्षमता विकास र पूर्व सचिव मधुरमण आचार्यले निजामती सेवाप्रतिको आकर्षण र उत्प्रेरणा अभिवृद्धि विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री ओलीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दश वर्षे रणनीति योजना पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

स्थायी सरकारसमेत भनिने निजामती प्रशासनबारे उच्चस्तरीय चासोलाई कर्मचारी वृत्तमा सुधारको सङ्केतका रूपमा लिइएको छ भने पछिल्लो समय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालनी गरेका प्रयासहरूले कर्मचारीमा केही आशा जगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस