माछापालनप्रति किसानको आकर्षण बढ्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माछापालनप्रति किसानको आकर्षण बढ्दै


२२ चैत्र २०७७, आइतबार


पर्वत । कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।

सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् ।

सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसानको सङ्ख्या ४० पुगेको छ । नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत सहायता दिँदै आएको छ ।

नगरको सहायताका कारण माछापालनमा युवाको आकर्षण बढेको पशुसेवा प्रमुख सापकोटाले जानकारी दिए । सापकोटाले किसानलाई माछा पोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताए ।

‘किसानलाई गत वर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ’, सापकोटाले भने, ‘यस वर्ष भुरा वितरण गरेका छौँ ।’ किसान उत्साही भएर माछापालनमा लागेको उनले बताए । नगरपालिकाले शुक्रबार २२ किसानलाई भुरा वितरण गरेको छ ।

मागका आधारमा किसानलाई २५ हजार माछाका भुरा वितरण गरिएको हो । मागका आधारमा किसानले ५०० देखि पाँच हजार भुरा प्राप्त गरेका छन् । माछाका भुरा पाएपछि व्यवसायलाई थप प्रेरणा प्राप्त भएको किसान देवी क्षेत्रीले बताइन् ।

क्षेत्रीले छ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएकी छिन् । उनले आफूसँग छ हजार माछापालन गर्ने क्षमताका पोखरी रहेको जानकारी दिइन् । ‘लकडाउनको बेला मैले रु डेढ लाखका माछा बेँचे’, उनले भनिन्, ‘बजारको माग धान्नै मुस्किल छ ।’ मोदीखोला र कालीगण्डकी किनारमा माछापालन गर्ने किसान बढ्दै गएका छन् ।

नगरपालिकाले किसानको आकर्षण बढेपछि सहायता गर्न थालेको जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीले व्यावसायिक माछापालनलाई आगामी वर्ष थप बढाउने सोच रहेको बताए । उनले उपयुक्त हावापानी र राम्रो बजार रहेको हुनाले नगरपालिका माछा ब्लक नै बनाएर किसानलाई सहयोग गर्ने योजनामा रहेको सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस