सुदूरपश्चिममा भारतबाट आएकामा देखिन थाल्यो नयाँ भेरियन्ट कोरोना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा भारतबाट आएकामा देखिन थाल्यो नयाँ भेरियन्ट कोरोना


२२ चैत्र २०७७, आइतबार


कैलाली । भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्ट कोरोना सङ्क्रमण देखिएको छ । कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना देखिन थालेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
उनले भने,‘भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा त्रिनगर भन्सारबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, सीमामा राखिएका हेल्थ डेस्कबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएकाहरूमा अधिकांशमा कोरोना पोजेटिभ देखिएको छ ।’
भारतबाट आएकाहरूमध्ये २० जनाको  स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउँदा ३ जनाको सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको प्रवक्ता कार्कीले जानकारी दिए । तर उनीहरूमा नयाँ भेरियन्ट कोरोना हो की होइन भन्ने नखुलाईको उनले बताए ।
सङ्क्रमित हाल होम आइसोलेसनमा बसिरहेका छन् ।
सुदूरपश्चिममा हाल भारतबाट नेपाल भित्रिनेको सङ्ख्या अत्यधिक वृद्धि भइरहेको छ । नेपाल भित्रिएकाहरूलाई सिमानामा राखिएका हेल्थ डेस्कमा कोरोना परीक्षण गरेर मात्रै घर पठाउने गरिएको प्रवक्ता कार्कीको भनाइ छ ।
‘नेपाल भित्रिनेहरूलाई सीमानामै परीक्षण गरेर मात्रै घर पठाउने वा आइसोलेसनमा राख्ने गरिएको छ, लक्षण देखिएकाहरूलाई सार्वजनिक यातायातमा जान दिइएको छैन, लक्षण देखिएका र होम आइसोलेसनमा बस्न चाहनेहरूलाई आफ्नै निजी सवारी प्रयोग गरेर घर जान दिइएको छ, उनले भने,‘बाँकीलाई आइसोलेसनको व्यवस्था पनि गरिएको छ ।’
छिमेकी मुलुक भारतमा नयाँ कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढिरहेकोले नेपालमा पनि यसको असर पर्ने देखिएको छ । भारतमा मजदुरी गर्न गएकाहरू नयाँ वर्षमा घर आउने समय पनि भएकाले जोखिमपूर्ण अवस्था देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस