बडिगाड झडप घटनामा संलग्न आठ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बडिगाड झडप घटनामा संलग्न आठ सार्वजनिक


२० चैत्र २०७७, शुक्रबार


गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ ।

होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका-१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

चैत १५ गते होली खेल्ने क्रममा बडिगाड गाउँपालिका-१० र निसीखोला गाउँपालिका-७ को सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको ज्यान गएको थियो ।

प्रहरीले मिलन बुढामगर र रेशम बुढामगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढामगरलाई बुर्तिबाङ, सूर्य बुढामगर र ढालबहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको र दुई जना जिल्ला प्रशासनमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

पक्राउ परेका आठ जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मगरको भनाइ छ । पीडित पक्षले छ विरुद्ध किटानी जाहेरी दिएका थिए । जसमध्ये चार जना पक्राउ परेका छन् । घटनामा धेरै युवा संलग्न भएको भन्दै अनुसन्धानका लागि प्रहरी खटिएको पल्लीमगरको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस