स्मार्ट लाइसेन्सको साटो एक वर्षका लागि क्यूआर कोडसहितको ड्राइभिङ कार्ड दिने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्मार्ट लाइसेन्सको साटो एक वर्षका लागि क्यूआर कोडसहितको ड्राइभिङ कार्ड दिने तयारी


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले सुरूको एक वर्ष अवधिका लागि छुट्टै कार्ड जारी गर्न लागेको हो ।

चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने तयारी भएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले टेकपानासँगको कुराकानीमा चाँडै नै क्यूआर कोडसहितको छुट्टै कार्ड ल्याउन लागेको जानकारी दिए । ‘एक वर्षको परीक्षण अवधिका लागि अब छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेका छौं । हामीले छिट्टै आधिकारिक रुपमा यसबारे जानकारी उपलब्ध गराउँछौँ,’ उनले भने ।

उनका अनुसार आउँदो जेठ महिनापछि ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ लाइसेन्स नदिने र पुनः परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस