भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी


एजेन्सी

१९ चैत्र २०७७, बिहिबार


इस्लामाबाद । पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ ।

पाकिस्तान सरकारले भारतबाट पाँच लाख टन चिनी खरिद गर्ने गरी बुधबार अबेर निर्णय गरेको जनाएको थियो । सरकारको यस कदमले पाकिस्तानमा चिनीको बढ्दो मूल्यवृद्धिलाई २० प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको छ । चाँडै आउन लागेको रम्जान महिनामा चिनीको उपभोग अरु बढ्ने भएपछि पाकिस्तान सरकारले यस्तो निर्णय लिएको हो ।

साथै भारतबाट करिब ३० लाख टन गहुँ पनि खरिद गरिने छ भने कपास र धागोको परिमाण भने खुलाइएको छैन ।

पाकिस्तानको अर्थतन्त्र पहिल्यैदेखि मन्दीको अवस्थाबाट गुज्रिरहेको छ, र कोरोनाभाइरसको तेस्रो लहरका कारण देशका विभिन्न स्थानमा आंशिक लकडाउन गर्नु परेकाले अर्थतन्त्रमा थप तनाव अरु बढाएको छ ।

भारतले काश्मिरलाई दिइआएको विशेष दर्जा हटाएसँगै सन् २०१९ देखि पाकिस्तानले भारतसँगको व्यापार र कुटनीतिक सम्बन्ध निलम्बन गरेको थियो । दुवै मुलुकले आआफ्ना वरिष्ठ कूटनीतिज्ञलाई फिर्ता बोलाउनुका साथै कन्सुलर कर्मचारीलाई देश निकाला वा फिर्ता गरिएको थियो ।

तर पछिल्लो केही समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पत्र आदानप्रदान भएका छन् । दुवै देशको साझा नदीका रुपमा रहेको इन्दु नदीको प्रयोगका सन्दर्भमा दुवै देशका वरिष्ठ अधिकारीहरुबीच वार्ता पुनः थालनी भएको छ ।

ब्लूमबर्गले गत साता प्रकाशन गरेको एक समाचारमा युनाइटेड अरब इमिरेट्स (युएई) ले दुवै देशबिच वार्ता गराउन मध्यस्थता गर्ने जनाएको थियो ।

काश्मिर मामिलामा नयाँ दिल्लीको अडानमा कुनै परिवर्तन नआउँदै भारतसँग व्यापार किन खोल्न लागिएको भनी बुधबार सोधिएको प्रश्नमा पाकिस्तानी अर्थमन्त्री हमाद अजहरले जनताको भलाईका लागि सरकारले निर्णय गर्ने बताए ।

पाकिस्तानी अर्थशास्त्री फारुख सलीमले भारतसँगको व्यापार सम्बन्ध तोड्ने पाकिस्तान सरकारको निर्णय भावनात्मक रहेको बताउँदै अहिले व्यापार पुनः सुरु गर्नु आर्थिक बाध्यता हो भने ।

अजहरले अर्थ मन्त्रालयको कार्यभार मङ्गलबार मात्र ग्रहण गरेका थिए । प्रधानमन्त्री खानले पूर्व अर्थमन्त्रीले बढ्दो मुद्रास्फिती रोक्न नसकेको आरोप लगाउँदै अर्थमन्त्रीलाई बर्खास्त गरेका थिए।

यसैबिच, अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई उपलब्ध गराउने भनिएको छ अर्ब डलर स्वीकृत गरेको छ । कोरोनाभाइरस महामारी सुरु भएपछि उक्त रकम रोक्का गरिएको थियो । यसै साता कोषले ५० करोड डलर पाकिस्तानलाई उपलब्ध गराएको छ ।

पाकिस्तानमाथि करिब ११४ अर्ब डलर विदेशी ऋणभार छ । यो रकम पाकिस्तानको कूल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशतभन्दा बढी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस