पर्यटन जागरणका लागि घरवास सचेतना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटन जागरणका लागि घरवास सचेतना


१९ चैत्र २०७७, बिहिबार


गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवम् पर्यटन व्यवसायी महिला सङ्घ नेपाल गण्डकी प्रदेशको आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामुदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ ।

कोरोना कहरका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पुर्नजागरण गराउने लक्ष्यका साथ दुवै होमस्टेका सञ्चालकका लागि गत चैत २० र २१ गते घरवास सचेतना गर्न लागिएको पर्यटन व्यवसायी महिला सङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष रेनु थापा मगरले जानकारी दिइन् । घरवास पर्यटनका पर्याप्त सम्भावना रहेका लब्सी बोट र भुक देउरालीमा आगामी दिनमा पर्यटकको आगमन बढाउन पनि कार्यक्रम महत्त्वपूर्ण बन्ने विश्वास लिइएको उनले बताइन् ।

सचेतनाका क्रममा पर्यटकलाई गरिने आतिथ्यता, सत्कार, स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ । सङ्घका निवर्तमान अध्यक्ष लक्की कार्की क्षेत्री, अध्यक्ष रेनु थापा मगर, महासचिव शोभा पाण्डे न्यौपाने लगायत पर्यटन क्षेत्रका विज्ञबाट होमस्टे सञ्चालकहरूलाई तालिम तथा प्रशिक्षण दिइने सङ्घले जनाएको छ ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित गण्डकी प्रदेश भित्रका विभिन्न जिल्ला तथा स्थानमा सञ्चालित होमस्टेहरूमा पछिल्ला दिन आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएका अवस्थामा नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रमलाई पनि अघि बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस