परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरिन्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरिन्छ : अध्यक्ष दाहाल


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले जनताको बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक उपलब्धी उल्ट्याउने र देशलाई अराजकतामा धकेल्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज २० औँ जेलब्रेक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो सङ्घर्षका साथ स्थापित समावेशी, समानुपातिक प्रतिनिधित्वलाई खण्डित गर्ने प्रयासविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।

गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटन सामान्य परिघटना नभएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले परिवर्तन नचाहने प्रवृत्तिले गडबडी गरेको स्पष्ट पारे । एकजुट भएर जनताबीचमा जाँदा जस्तोसुकै षड्यन्त्रलाई पराजित गर्न सकिन्छ भन्ने तथ्य पछिल्ला दिनमा स्थापित गरिएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘यतिबेला पनि हामीले शान्तिपूर्ण रुपमा जनयुद्ध नै गरिरहेका छौँ । हामी अझै एक ढिक्का भएर आन्दोलनमा गयौँ भने जनविरोधी प्रवृत्तिलाई परास्त गर्न सक्छौँ ।’

संविधान, लोकतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनः एकपटक सङ्घर्ष जरुरी रहेको भन्दै अध्यक्ष दाहालले यतिबेला पनि परिवर्तन चाहने र नचाहनेका बीचमा सङ्घर्ष जारी रहेको बताए । गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनका लागि आजै मात्र आफूहरूले निवेदन दिएको जानकारी दिँदै अध्यक्ष दाहालले रिट निवेदकले माग्दै नमागेको विषयमा गरिएको निर्णयमा पुनरावलोकन हुने विश्वास व्यक्त गरे ।

नेकपा(एमाले) र माओवादी केन्द्रबीच एकता भई तीन वर्ष अगाडि बनेको नेकपालाई तिमीहरू आ–आफ्नैतिर लाग भनेर गरिएको फैसलालाई उनले विचित्रको संज्ञा दिए । केही विषयमा सर्वोच्चले आफ्नै फैसलाको पुनरावलोकन गरेको भन्दै उनीहरूले फागुन २३ को फैसला पुनरावलोनक हुने अपेक्षा गरे।

फागुन ११ गते भएको फैसलाको विपरीत पछिल्लो पटक भएको निर्णय आफैँमा मिल्दो नभएकाले त्यो सच्चिने उनको भनाइ छ । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले जनयुद्धका कारण नै राज्यका हरेक निकायमा महिलाको उचित प्रतिनिधित्व भए पनि अझै त्यो पुग्दो नभएको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेतृ पम्फा भुसाल र गोरखा जेल ब्रेकका कमाण्डर कमला नहर्कीलगायतले परिवर्तनको प्रक्रिया रोक्ने खोज्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताए । ठीक २० वर्ष पहिले चार महिलाले गोरखा जेल ब्रेक गरेर नयाँ इतिहास कायम गरेको दिनको स्मरणमा हरेक वर्ष चैत १७ गते जेल ब्रेक स्मरण गर्ने गरिएको नहर्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस