ललितपुर महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुर महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन


१७ चैत्र २०७७, मंगलबार


ललितपुर । ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधन सञ्चालनमा आएको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहु अपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरे । सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बिमा, ब्लु बुक नवीकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराए ।

केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात् क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने भनाइ राखे । उनले भने, ‘महानगरपालिकाभित्र हालसम्म कूल ५५२ ले अपाङ्गताको परिचयपत्र लिइसक्नुभयो । जस्मा मात्र बहु अपाङ्गता भएकाले यस सवारीसाधन प्रयोग गर्न पाउनुहुनेछ ।’ महानगरपालिका कार्यालयमा एक बस्ने कक्ष, तलमाथि गर्न लिफ्ट, अपाङ्गतामैत्री शौचालय, बगैँचा, फुटपाथ र सवारीसाधनसमेत उपलब्ध रहेको उनले औँल्याए।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सो महानगरपालिकाले बहु अपाङ्गता भएका व्यक्तिका लागि सवारीसाधन उपलब्ध गराएर उदाहरणीय काम गरेको चर्चा गरे । सो सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले रु १६ लाख ७५ हजार रकम खर्च गरेका कार्यक्रममा बताइयो ।

सो क्याबमा चार जना ह्वीलचेयरसहित पछाडि र अगाडि बस्न मिल्छ । बहु अपाङ्गता भएका व्यक्ति सविना डङ्गोल, सञ्जु महर्जन र उदयबहादुर पौडेललाई महानगरपालिका पाङ्गणबाट केन्द्रको कार्यालयसम्म सवारीसाधन चढाएर सञ्चालनमा ल्याइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस