अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ ।

यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ । देशको अधिकांश जिल्लाका धेरै ठाउँमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्डल मै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ ।

खास गरी राजधानी काठमाडौँलगायतका सहरहरू जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ ।  त्यस्ता ठाउँमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ ।

आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार आजबाट पारदर्शिता केही बढ्ने सम्भावना रहेको छ । सोमबार देशको केही स्थानमा फाटफुट वर्षाका साथै हल्का हावा चलेको कारण पारदर्शिता बढेको बताइएको छ । ‘मौसम पूर्णरुपमा सुधार हुने अवस्था भने तत्काल देखिएको छैन ।’ मौसमविद् नगरकोटीले भनिन्।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुसमेतको आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागकै एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस