म्यानमारको सैन्य कू अहिले सम्मकै बरबर, ५०० बढीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्यानमारको सैन्य कू अहिले सम्मकै बरबर, ५०० बढीको मृत्यु


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । म्यानमारमा सैनिक शासन लागू भए यता हालसम्म पाँच सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सेनाले सत्ता हत्याएपछि त्यहाँका नागरिहहरुले दिनहुँ जसो प्रदर्शन गरिरहेका छन् ।

शनिवार सबैभन्दा हिंसात्मक गतिविधि गरेको म्यानमारको सेनाले म्यानमारको दक्षिणपूर्वी राज्य करेनमा धार्मिक सशस्त्र समूहको नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण गरेको थियो । आइतबार अन्तिम संस्कारहरू भइरहँदा श्रद्धाञ्जली कार्यक्रममा पनि सेनाले आफ्ना नागरिकहरूमाथि आक्रमण गरेको थियो ।

सेनाले हवाई आक्रमण गर्न थालेपछि म्यानमारका नागरिहरु ज्यान जोगाउन साल्विन नदी पार गरेर थाइल्याण्ड जान थालेका छन् । सोमबार तीन हजार नागरिक शरण खोज्दै थाइल्याण्ड पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्यानमारसँग सीमाना जोडिएको अर्को छिमेकी मुलुक भारतले शरण खोज्दै आउने म्यानमारका नागरिकलाई प्रवेश नदिने निर्देशन दिएको छ । म्यानमारसँग सीमा जोडिएको मणिपुर सरकारले पाँच जिल्लाका अधिकारीहरूलाई पत्र लेख्दै म्यानमारबाट आउनेहरू छिर्न नदिन र उनीहरूलाई खान बस्नका लागि क्याम्प नखोल्न पनि निर्देशन दिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

यसअघि म्यानमारका प्रहरीसहित केही नागरिक भागेर भारतको मिजोरम आइपुगेका थिए।

सडकमा फोहोर फालेर सरकारको विरोध
सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरूले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मङ्गलवारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेको बिबिसीले जनाएको छ ।

प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् ।

फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको सेनाले गरेको दमनमा अहिलेसम्म ५ सय बढी म्यानमारीको मृत्यु भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस