पत्रकार महासङ्घ ६६औँ वर्षमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकार महासङ्घ ६६औँ वर्षमा


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६औँ वर्षमा प्रवेश गरेको छ ।

सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

अध्यक्ष गोविन्द आचार्यले आज शुभकामना सन्देशमार्फत स्थापना दिवसका अवसरमा सहकार्य तथा साथ र सहयोगका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध सङ्घसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठनको नेतृत्व तथा नागरिक संस्थामा हार्दिक आभार व्यक्त गरेका छन् ।

अहिले महासङ्घ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ वैदेशिक शाखा र १२ एसोसिएट संस्था आवद्ध छन् । महासङ्घले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ ।

‘हाम्रा अग्रजको योगदान र महासङ्घको गौरवपूर्ण इतिहासप्रति महासङ्घ केन्द्रीय समिति गर्व गर्दछ, आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभइ महासङ्घको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु’, शभकामनाा सन्देशमा भनिएको छ ।

स्थापना दिवसका अवसरमा महासङ्घले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना र आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापनालगायतका मागका सम्बन्धमा सरकारसहित सम्बन्धित निकायमा पुनः ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी महासङ्घले यही २०७७ चैत २५ गते एकै दिन केन्द्र, प्रदेश र शाखाका कार्यसमिति चयनका लागि हुने निर्वाचनलाई स्वस्थ्य, स्वतन्त्र र व्यवस्थित ढङ्गले सफल पार्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस