सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आग्रह


१५ चैत्र २०७७, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आग्रह गरेकी छन् ।

कोरोना भइरस (कोभिड–१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गरी होली मनाउन आग्रह गरेकी हुन् ।

होली पर्वको शुभकामना दिँदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव, सहिष्णुता,आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरेकी छन् ।

साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गरेकी छन् । ‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति, कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस