स्थानीय तहले उत्पादन र रोजगारीमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहले उत्पादन र रोजगारीमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री पोखरेल


प्रशासन संवाददाता

१५ चैत्र २०७७, आइतबार


बनेपा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्थानीय तहले अब उत्पादन र रोजगारी प्रदान गर्ने काममा योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको ४०औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्रोतै स्रोतको सम्भावना भएको मुलुक भएकाले अब स्थानीय सरकारले रोजगारी सिर्जनाका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘रोजगारी सिर्जना नगर्ने हो भने देशको जनशक्ति खेर जाने भएका कारण समृद्ध मुलुकको सपना पूरा गर्नका लागि पनि अब आउने दिनमा नगरका जनतालाई रोजगारी सिर्जना गर्न र उत्पादनमा जोड दिन कसरी, के के कुरा गर्न सकिन्छ, त्यसतर्फ केन्द्रित भएर योजना बनाउन सक्नुपर्दछ ।’

उपप्रधानमन्त्री पोखरेलले रोजगारी सिर्जना गर्न सकेमा नगरपालिका आत्मनिर्भरतातर्फ अगाडि बढ्न सकिने र यसले ‘समृद्ध नेपाल र सुखि नेपाली’ बनाउने वातावरणसमेत सिर्जना हुने बताए। उनले बनेपा शहरलाई व्यवस्थित गर्नका लागि स्थानीय सरकारले गर्न नसकेका ठूला आयोजनाका लागि छिट्टै योजना बनाएर सङ्भीय सरकारसमक्ष पेश गर्न नगरपालिकालाई आग्रह गरे ।

‘नगरपालिकाको विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकारले गरेका विकास आयोजनाको कामबाहेक अरु योजनाको प्रस्ताव सङ्घीय सरकारसमक्ष पेश गर्नुस्, त्यसलाई पूरा गर्ने जिम्मा म लिन्छु’, उनले भने, ‘दुखेसो पोख्ने मात्रै काम भए त्यो सम्भव हुँदैन, तर सङ्घीय सरकारसमक्ष व्यवस्थित ढङ्गले आएका योजनालाई यस पटकको नीति, कार्यक्रम तथा बजेटमा पार्ने जिम्मा मेरो हो । त्यसको लागि बनेपा, धुलिखेल र पनौतीले एकीकृत ढङ्गले व्यवस्थित योजना बनाउन आवश्यक छ ।’

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक अस्थिरताले विकास र समृद्धिको मुद्दा ओझलमा पर्न सक्ने भएकाले मुलुकलाई राजनीतिक स्थायित्व दिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरकार पाँच वर्षसम्म चल्ने र त्यो अवधिमा राम्रो काम ग¥यो कि गरेन भनेर जनताले छिनोफानोसमेत गर्ने बताउनुभयो । उनले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र स्वतन्त्रतामाथि आँच पुर्याउने कुरा आफूलाई मान्य नहुने प्रस्ट पारे ।

कार्यक्रममा नगरपालिकाका पूर्वनगरप्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठले बनेपा नगरको विकास र समृद्धिका लागि काठमाडौँदेखि बनेपा–धुलिखेलसम्म मेट्रो रेल जोड्न र अरनिको राजमार्ग फराकिलो र व्यवस्थित गर्नतर्फ सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताए । नगरपालिकाको मुख्य समस्या फोहरमैला व्यवस्थापन, खानेपानीको उपलब्धता र धुँवाधुलो वातावरण व्यवस्थापन रहेको उल्लेख गर्दै उनले त्यसका लागि पनि सहयोग गर्न सरकारसँग आग्रह गरे।

बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले नगरभित्र आवश्यक विकासका पूर्वाधार अगाडि बढिरहेको बताए । आफू निर्वाचित भएर आएको चार वर्षमा सडक, ढल निकास, खानेपानी, कृषि, स्वास्थ्य, पर्यटन र अन्य काममा नगरपालिका निरन्तर अगाडि बढिरहेको उनले जानकारी दिए । उनले फोहोर व्यवस्थापनका लागि फोहोर जलाउने मेशिन ल्याएको र फाल्ने ठाउँको दीर्घकालीन समस्या समाधानका लागि जग्गा व्यवस्थापन गरेकोमा स्थानीय बासिन्दाको विरोधपश्चात विकल्प सोचेर अगाडि बढिरहेको बताए ।

प्रमुख श्रेष्ठले नगरमा जेष्ठ नागरिकलाई विश्रामस्थल निर्माण गर्ने, पर्यटन प्रवर्द्न, कृषि, लुघउद्यम, उद्यमशिलता कार्यक्रमलगायतका नयाँ योजनासमेत अगाडि बढाइसकेको बताए ।

स्थापना दिवसकै अवसरमा आज विहान नगरभित्रका विद्यालय, सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि र विभिन्न सङ्घ÷संस्थाको सहभागितामा नगरका विभिन्न ठाउँको परिक्रमा गरेका थिए । सो क्रममा स्थानीय जातजातिको भेषभूषा, सांस्कृतिक बाजालगायत जातिय पहिचान झल्कने र्यालीको आयोजना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस