लागुऔषध, करणी लगायत आपराधिक क्रियाकलापमा संलग्न अभियुक्त पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषध, करणी लगायत आपराधिक क्रियाकलापमा संलग्न अभियुक्त पक्राउ


१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिनसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, मनोहरी गाउँपलिका–७ बस्ने ३० वर्षीय सुनिल तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा सिरहाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५८६४ नम्बरको बसमा आएका उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–१४ बाट तीन केजी गाँजासहित २० वर्षीय आनन्द लामालाई पनि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

करणी अभियोगमा पक्राउ

एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २६ वर्षीय साजन राउतलाई पक्राउ गरेको छ ।

राउतले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–२४ विशालबजार नजिकबाट स्रोत नखुलेको नगद रु ३० लाख ५० हजारसहित शुक्रबार काठमाडौँ कालोपुल बस्ने गुल्मीका २५ वर्षीय गणेश पाण्डेसहित दुई पक्राउ परेको र उनीहरूको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस