उडान खुल्यो : मौसम सुधार हुन समय लाग्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उडान खुल्यो : मौसम सुधार हुन समय लाग्ने


१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट उडान शुरु भएको जानकारी दिए । ‘बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायुयानलाई आइएफआर उडान खुला गरिएको छ’, उनले भने ।

विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फ आठ जहाज अन्यन्त्र मोडिएका छन् । अन्तरराष्ट्रियतर्फ एक जहाज भारतको दिल्ली मोडिएको गरिएको महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको जहाज अवतरण भएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताए ।

उनका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन । मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन । नेपालका मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस