अमेरिकी प्रशासनद्वारा प्यालेस्टाइनसँग सञ्चार सम्पर्क पुनः स्थापना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी प्रशासनद्वारा प्यालेस्टाइनसँग सञ्चार सम्पर्क पुनः स्थापना


एजेन्सी

१३ चैत्र २०७७, शुक्रबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनसँग कूटनीतिक सञ्चार सम्पर्क पुनः स्थापना गर्न लागेको जनाएको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीसँगको सञ्चार सम्पर्क विच्छेद गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद बैठकमा भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले प्यालेस्टाइनसँग अमेरिकाले चाँडै कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न लागेको बिहीबार जानकारी गराएकी थिइन् ।

उनले जनवरी यतादेखि बाइडेन प्रशासनले दुबै पक्षसँग परामर्श गरी प्यालेस्टाइनमा शान्ति स्थापना गर्न चाहेको जानकारी गराएकी थिइन् । राजदूत ग्रिनफिल्डले भनिन्, ‘बाइडेन प्रशासनले अमेरिकी पूर्व प्रशासनले प्यालेस्टाइनसँग अबरुद्ध गरेको कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न पहल थालिसकेको छ । कूटनीतिक सम्बन्ध स्थापनाको हाम्रो लक्ष एकै छः इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि मद्दत गर्नु ।’

राजदूत ग्रिनफिल्डले अमेरिकाले इजरायललाई निरन्तर सहयोग गर्ने बताउँदै इजरायल र प्यालेस्टाइन दुबै पक्षले दुई– राज्य समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरिन्। उनले इजरायलको भविष्यका लागि यो नै सबैभन्दा राम्रो दृष्टिकोण रहेको अमेरिकी सोचाई रहेको बताइन् ।

राजदूत ग्रिनफिल्डले बाइडेन प्रशासनले प्यालेस्टिनी जनताको विकास र मानवीय सहायताका लागि मद्दत गर्न अमेरिकी सहायता कार्यक्रम पुनः आरम्भ गर्न लागेको पनि बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस