ललिता निवासको जग्गामा बनाइएका घर टहरा हटाउन निर्देशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ललिता निवासको जग्गामा बनाइएका घर टहरा हटाउन निर्देशन


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित ललिता निवासभित्र निर्माण भएका घर टहरा हटाउन निर्देशन दिएको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरेर मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण भइरहेको भन्दै उक्त काम रोक्न निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ वालुवाटारिस्थित ललिता निवास क्याम्प भित्रका केही जग्गाहरूमा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्न विवरणका जग्गाहरूमा नक्सा पास सम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानुन विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ ।’

मन्त्रालयले बुधवार नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस