वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा ल्याउन ‘बुक बिल्डिङ’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा ल्याउन ‘बुक बिल्डिङ’


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । पछिल्ला दिनमा वास्तविक क्षेत्रका उद्योग तथा कम्पनी एकपछि अर्को गर्दै साधारण शेयर बिक्रीमा केन्द्रित भइरहेका छन् । शिवम् सिमेन्टले शुरु गरेको साधारण शेयर बिक्रीको क्रम चन्द्रागिरि हिल्ससम्म आइपुगेको छ ।

शेयर बजारको विस्तार र विकासका लागि वास्तविक क्षेत्रका कम्पनी तथा उद्योग शेयर बजारमा प्रवेश गर्नु जरुरी रहेको भन्दै सरकारले बजेटमा समेत सो व्यवस्था समेटेको छ । सरकारको सोही योजनाअनुसार नै वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा आकर्षित गर्ने ध्येयका साथ नेपाल धितोपत्र बोर्डले साधारण शेयरमा ‘बुक बिल्डिङ विधि’ कार्यान्वयनमा ल्याएको जनाएको छ । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मूल्यमा साधारण शेयर बिक्री गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)ले आज आयोजना गरेको छलफलमा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीले शेयर बजारको विस्तारका लागि बुक बिल्डिङ विधि पनि एउटा उपाय भएको बताए । यो व्यवस्था कार्यान्वयनमा आएसँगै पूँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि शेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा कम असर पर्ने उनको भनाइ छ । धितोपत्र निष्कासनको लागि गराइएको रेटिङमा औसतभन्दा माथि अर्थात् औसतभन्दा कम जोखिम भएको चुक्ता पूँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो तीन आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट साधारण शेयर बिक्री गर्नसक्ने बोर्डको भनाइ छ ।

सो विधिबाट साधारण शेयर निष्काशन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कूल निष्काशन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । निष्काशन भएको छ महीनासम्म संस्थागत लगानीर्ताले शेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मूल्य’ को १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।

पहिले अनिवार्यरुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था रहे पनि बोर्डले केही समय अगाडि मात्रै चुक्ता पूँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्काशन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसैबीच, सर्वोत्तम सिमेन्टले साधारण शेयर बिक्री गरेको तीन महीनाभित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गरेकामा बोर्डले त्यस्तो गतिविधि नियालीरहेको बताएको छ । कार्यकारी निर्देशक गिरीले भने, “कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौँ’ भन्न मिल्दैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस