सियारीमा पशुपालक किसानलाई अनुदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सियारीमा पशुपालक किसानलाई अनुदान


१० चैत्र २०७७, मंगलबार


बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिकरुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई रु ४८ लाख ८७ हजार ४०० अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।

गाउँपालिका–४ र ५ का किसानले पशुका लागि रु ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा सामग्रीबापतको रु चार लाख ६९ हजार ४०० अनुदान रकम पाएका छन् । सोअन्तर्गत लागत साझेदारी कार्यक्रम तथा त्रिपक्षीय साझेदारी कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको रु २४ लाख ५२ हजार ७०० र गाउँपालिकाको रु २४ लाख ३४ हजार ७०० अनुदान रकम रहेको छ ।

अनुदान प्राप्त गर्न किसानले कम्तीमा पनि दुई थान गाई वा भैँसी पाल्नुपर्ने र समूह बनाउनुपर्ने प्रावधान छ । गाउँपालिकामा अहिले १०/१० जनाको पाँच समूह रहेको छ । गाउँपालिकामा लागत साझेदारी तथा त्रिपक्षीय साझेदारी कार्यक्रम लागू भएपछि समूह बनाई किसानलाई विभिन्न किसिमका तालीम, उपकरण वितरण, औषधोपचारलगायत काम गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताए ।

अनुदान रकम लिएका किसानलाई रकमको सही ठाउँमा सदुपयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गरे । लागत साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई १४ विद्युतीय च्यापकटर र ६० थान काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले जानकारी दिए।

गाउँपालिकाले गाई गोठ, बाख्रा गोठ, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरणलगायत कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसँग सम्बन्धित किसानलाई समेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकामा अहिले बाच्छी हुर्काउने कार्यक्रमअन्तर्गत बाच्छीको जन्मदर्ता गरिदिने, राम्रोसँग पालनपोषण गरे रु १० हजार अनुदान दिने तथा बीमा, औषधोपपचार गरिने व्यवस्थासमेत लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस